सूचना विभाग द.नं. ६२९/०७४-७५

दशैंको मुखमा फाप्लुका लागि नेपाल एयरलाइन्सको जहाज उडेन

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: आश्विन १५, २०७६

मन्त्री भट्टराईको “वाह नेपाल एयरलाइन्स” गफमै सिमित बन्ने खतरा

१५ असोज २०७६/सोलुखुम्बु समाचार - “हेलो, भोलिको फ्लाइटको बारेमा पनि कुनै टुंगो छैन, .... हुन्छ म तपाईलाई खबर गर्छु नि” नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज गणेश श्रेष्ठ निराश मुद्रामा आफ्ना यात्रुलाई जवाफ दिँदैछन् । फेरि मोबाइलको घण्टी बज्छ उनी जवाफ दिन थाल्छन् “हामी प्रयास गरिराछौं, एक हप्तादेखि फ्लाइट भएको छैन, भोलिको पनि टुंगो छैन ।”

लगातार उनको मोबाइलमा घण्टी बज्छ र फाप्लु काठमाण्डौ फ्लाइटको बारेमा यात्रुलाई जानकारी गराउँदै दिन बित्छ । कतिपय यात्रुहरु फोनमा नै झगडा गर्न तम्सिन्छन् तर नेपाल एयरलाइन्सले पछिल्लो समय फाप्लुमा उडान गर्न सकिरहेको छैन । 

मौसम पनि केही खराब छ तर मौसमको कारणले नभई नेपाल एयरलाइन्सको आन्तरिक कारणले फाप्लुमा पछिल्लो समय उडान भएको छैन । बिहान सबेरै उडान गर्ने भएकोले फाप्लुवाट काठमाण्डौ जाने आउने यात्रुका लागि नेपाल एयरलाइन्स भरपर्दो एयरलाइन्स बनेको थियो । 

तर दशैको मुखमा नेपाल एयरलाइन्सले यात्रुहरुलाई दुख दिएको यात्रुहरुको गुनासो छ । “दशैंमा आउने जाने यात्रुलाई राम्रो सेवा दिन सकिरहेका छैंनौं, हामीलाई दुख लागिरहेको छ” स्टेशन इन्चार्ज श्रेष्ठले भने ।
आखिर किन फाप्लुमा उडान नभएको हो त ? नेपाल एयरलाइन्सका बाणिज्य बिभागका उपनिर्देशक पुष्प श्रेष्ठ भन्छन् “एउटा मात्रै जहाजले उडान गरिरहेकोले सबैतिर तोकिएको तालिका अनुसार उडान हुन नसकेको हो।”

नेपाल एयरलाइन्ससँग भएको तीन वटा ट्वीनअटर बिमानमध्ये यतिखेर एउटा जहाजले मात्रै उडान भरिरहेको छ । एयरलाइन्सको एउटा बिमान ग्राउण्डेड भएको महिनौं बितिसकेको छ र अर्को एउटा जहाज बिगत दुई सातादेखि ग्राउण्डेड छ । 

ग्राउण्डेड भएको जहाज कहिलेदेखि उडान गर्न तयार हुन्छ भन्ने बारेमा आफूलाई थाहा नभएको उनले बताए । तर फाप्लुको उडान आफूहरुको प्राथमिकतामा रहेको उनले बताए ।  नेपाल एयरलाइन्सको फाप्लुका लागि आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका रहेको छ । यात्रुको चाप पनि फाप्लुका लागि उत्तिकै छ ।

यात्रुलाई जानकारी छैन, सेल्स डिपार्टमेण्टको फोन उठदैन, भद्रगोल नोटिस बोर्ड

आफ्नो परिवारजन भेट्न सोलुखुम्बु आउनका लागि काठमाण्डौमा हरिमाया श्रेष्ठ गत बिहिबारदेखि तयार भएर बसेकी छन् । तर एक हप्तासम्म उनको उडानको कुनै टुंगो छैन । उनलाई नेपाल एयरलाइन्सले उडानका बारेमा कुनै जानकारी गराएको छैन । 

हरिमाया मात्रै हैन अन्य यात्रुलाई पनि नेपाल एयरलाइन्सले उडानका बारेमा बताउने गरेको छैन । आफ्नो उडानका बारेमा बुझ्न नेपाल एयरलाइन्सको सेल्स डिपार्टमेण्टमा फोन गर्ने यात्रुहरु फोन गर्दा गर्दा थाक्छन् तर त्यहाँको फोन उठ्दैन । 

कार्यालय समयमा पनि फोन नउठ्ने यात्रुहरुको गुनासो छ । “उडानका बारेमा हामीलाई फोन गरेर जानकारी गराउनु त कहाँ हो कहाँ हामीले गरेको फोन पनि उठ्दैन” यात्रुहरुको गुनासो छ । यात्रुहरुलाई जानकारीका लागि केही समय अघि नेपाल एयरलाइन्सले नोटिस बोर्ड सेवा शुरु गरेको थियो । तर एयरलाइन्सको उडान आक्कलझुक्कल भएझै १६१८०७०७५७०१० नम्बरको नोटिस बोर्ड सेवाको सेवा पनि उस्तै भद्रगोल छ । हरेक दिन अपडेट हुनु पर्ने नोटिस बोर्डमा कल गर्नु यात्रुका लागि सास्ती मात्रै हुने गरेको छ । १५ असोज साँझसम्म नोटिस बोर्ड ११ असोजको जानकारी उपलब्ध छ । यसले यात्रुहरु र आफ्नो सेवाप्रति एयरलाइन्सका कर्मचारी जिम्मेवार छैनन् भन्ने कुरा विश्वास गर्न केही गाह्रो पर्दैन ।

पर्यटकीय सिजनमा जहाज ग्राउण्डेड

अहिले दशैं मात्रै नभएर पर्यटकीय सिजन पनि हो । हामी सन् २०२० को पर्यटन बर्ष नजिक छौं । नेपाल भित्रने पर्यटकमध्ये हिमाली क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या बाक्लो हुने गर्छ ।  तर प्राय पर्यटकीय सिजनमा नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड हुँदा एयरलाइन्सलाई आर्थिक घाटासँगै यात्रुहरुको बिजोग र नेपाल एयरलाइन्स प्रति यात्रुको विश्वसनियता निरन्तर ओह्रालो लागि रहेको छ ।
प्राय पहाडी क्षेत्रमा उडान गर्ने ट्वीनटर बिमान समयमा समयमा ग्राउण्डेड भएर लामो समय उडान नहुँदा यात्रुहरु नेपाल एयरलाइन्सको बिकल्प खोज्न बाध्य छन् ।

मन्त्री भट्टराईको वाह नेपाल एयरलाइन्स गफमै सिमित हुन सक्ने खतरा 

सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री हुनासाथ योगेश भट्टराईले वाह नेपाल एयरलाइन्स भन्ने बनाउने बताएका थिए । पहिलो पटक मन्त्री बनेका आश गरिएका युवा मन्त्रीको कुरा दुई महिना बित्दा गफ जस्तै बनेको छ । 

हुन त दुई महिना समय निक्कै कम समय हो एउटा मन्त्रीका लागि । तर आन्तरिक उडानका बारेमा मन्त्री भट्टराईले चासो दिनु जरुरी छ । नेपाल एयरलाइन्सकै एक कर्मचारी भन्छन् “किन जहाज महिनौं ग्राउण्डेड भईरहेको छ भन्ने बिषयमा मन्त्रीले सोच्न भ्याउनु भएको छैन होला ।”


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स