सूचना विभाग द.नं. ६२९/०७४-७५

सोलुखुम्बुको पहिलो किवी गाउँ थुलुङ दूधकोसी

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: श्रावण २०, २०७५

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकालाई ‘किवी भिलेज’ घोषणा गरेर एक करोड बजेट विनियोजन गरिएको छ। जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका दूधकोसीले खेती संस्कारलाई परिवर्तन गर्दै किवीको व्यावसायिक खेती विस्तार गर्ने उद्देश्यका साथ कुल विकास बजेटको करिब १० प्रतिशत छुट्याइएको छ। थुलुङको आर्थिक वर्ष २०७५/७६ का लागि कुल विकास खर्च बजेट १२ करोड छ। किवी गाउँ घोषणा गर्ने मुलुककै पहिलो गाउँपालिका भएको छ थुलुङ दूधकोसी।

गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको ६० प्रतिशत जमिन किवी खेतीका लागि उपयुक्त देखिएपछि किवी गाउँ नै घोषणा गरेर खेती विस्तार गरिएको बताए। ‘हामीले प्राविधिक अध्ययन गरेर नै सुरुवात गरेका हौं, हाम्रो गाउँपालिकाको ६० प्रतिशतभन्दा बढी जमिन किवी खेतीका लागि उपयुक्त छ।’ उनले भने, ‘किवी फलको व्यावसायिक उत्पादन गर्न १६०० मिटरदेखि २००० मिटरसम्मको उचाई उपयुक्त मानिन्छ। हाम्रो गाउँपालिका यही उचाईमा छ।’

थुलुङ दूधकोसीका नौ वडामध्ये आठ वडामा किवी खेती विस्तार गरिने उनले बताए। अध्यक्ष राईकाअनुसार खेती विस्तारका लागि गाउँपालिकाले सामूहिक खेती गर्ने किसानलाई बिरुवा, थाङ्ग्रा निःशुल्क उपलब्ध गराउनेछ। प्राविधिकदेखि मलखाद, सिँचाइमा सहयोग गर्नेछ। एक हेक्टरभन्दा बढी जग्गामा खेती लगाउने व्यक्तिगत किसानलाई समेत गाउँपालिकाले सहयोग गर्ने उनले बताए।

सामूहिक र व्यावसायिक खेतीलाई उच्च प्राथमिकता दिएर स्थानीय बासिन्दालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्य रहेको उनले बताए। प्रत्येक वर्ष किवी खेतीका लागि बजेट बढाउँदै लाने उनको योजना छ। ‘यस वर्ष एक करोड छुट्याएका छौं, यो सुरुवातमात्र हो। अर्को बढाउँदै लानेछौं’, उनले भने, ‘निर्वाहमुखी प्रणालीले दुःख सिवाय केही अरु केही भएन।

धान, मकै, कोदो खेतीबाट आम्दानीभन्दा बढी खर्च हुने गर्छ।’ किवीको बजार विस्तार र ‘वाइन फ्याक्ट्री’ स्थापनाका लागि स्रोत जुटाउने काम भइरहेको गाउँपालिका अध्यक्ष राई बताउँछन्। पीपीपी मोडलमा पाँचदेखि १० करोड लागतमा वाइन फ्याक्ट्री सञ्चालनबारे व्यापारीसँग छलफल भइरहेको उनको भनाइ छ। ‘म यही कामका लागि काठमाडौंमा छु। व्यापारीसँग छलफल भइरहेको छ। यसमा व्यापारी र गाउँपालिका दुवैको लगानी हुने मोडल हामीले बनाएका छौं। अन्त्यमा त्यसको सेयर आम किसानमा जाने हो’, उनले भने, ‘त्यसपछि गाउँमा उत्पादन हुने किवीले बजार नपाउने समस्या पनि हुँदैन।’

एक पटक लगाएपछि कम्तीमा ५० वर्षसम्म लगातार उत्पादन दिने विश्वकै सबैभन्दा पोसिलो फलको रूपमा रहेको किवीको व्यावसायिक खेती नेपालमा सुरु भएको बागवानी केन्द्र फाप्लुका वरिष्ठ बाली विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए। अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किवीको व्यावसायिक खेती गर्न सकिने ठूलो सम्भावना रहेको उनले बताए।


थुलुङ दूधकोसीले किवीको व्यावसायिक खेती विस्तार गर्ने उद्देश्यका साथ कुल विकास बजेटको करिब १० प्रतिशत छुट्याइएको छ।

उनका अनुसार सोलुखुम्बुमा मात्रै ११ हजार सात सय किवीका बिरुवा वितरण गरिएको छ। उनका अनुसार ४२ हेक्टर क्षेत्रफलमा किवीको व्यावसायिक खेती सुरु गरिएको छ। सोलुमा कृषि बजार प्रवद्र्धन परियोजनाबाट ३२ र हिमाली आयोजनाबाट नौवटा गरी ४१ ठूला व्यावसायिक आयोजना किवीका लागि छनोट भएको छ। सोलुखुम्बुमा किवी खेतीका लागि ठूलो लगानी भइसकेको श्रेष्ठले बताए। बागवानी केन्द्रले सोलुखुम्बुमा किवी खेतीसम्बन्धी १४ वटा सघन तालिमसमेत सञ्चालन गरिसकेको छ।

अनुकूल हावापानीका साथै ५० वर्षसम्म आम्दानी दिइरहने भएका कारण किवी खेतीले प्राथमिकता पाएको श्रेष्ठले बताए। सोलुखुम्बुका साथै इलाम, दोलखा गरी नेपालमा १६ सय हेक्टरमा किवीको खेती हुने गरेका किवीमै अध्ययन अनुसन्धान गरिरहेका बागवानी केन्द्र फाप्लुका प्रमुख श्रेष्ठले बताए। श्रेष्ठका अनुसार प्रदेश नम्बर २ बाहेक सबै प्रदेशमा किवी खेती सुुरु भएको छ। प्रदेश १ का पहाडी ११ जिल्लामा किवी खेती सुरु भएको छ। सबैभन्दा धेरै क्षेत्रफल सोलुखुम्बु र इलाममा छ।

वरिष्ठ बागवानी विकास अधिकृत श्रेष्ठकाअनुसार लहरामा फल्ने एक प्रकारको सबैभन्दा पोसिलो बहुवर्षीय फल हो। सोलुखुम्बुमा मात्र नभई हावापानीका कारण नेपालमा किवीको ठूलो सम्भावना भएको उनले बताए। हिमालयदेखि तल्लो उच्च पहाडी क्षेत्रमा हिउँदमा चिसो हुने र वर्षामा बढी आद्रता हुने ठाउँ किवी खेतीका लागि उपयुक्त हुन्छ। समुन्द्र सतहदेखि एक हजार दुई सयमिटरदेखि दुई हजार चार सय मिटरको उचाई किवी खेतीका लागि उपयुक्त हुन्छ।

किवी खेतीमा आकर्षण

पछिल्लो समय सोलुखुम्बुका किसानको आकर्षण किवी खेतीतर्फ देखिएको छ। सोलुखुम्बुका किर्मु शेर्पाले तीन सय किवीका बिरुवा रोपेका छन्। सोलु दूधकुण्ड नगरपालिका–१० गोराखानीमा उनले चार वर्षअघिदेखि किवी खेती गर्दै आएका थिए।

किर्मु आफूजस्तै धेरै किसानले किवी खेती गर्न थालेको उनी बताउँछन्। ‘अहिले त धेरैले लगाएका छन्, मेरा काका लाक्पा गेल्जेन शेर्पाले दुई हजार बोट लगाउनुभएको छ’, उनले भने, ‘राम्रै होला भनेर लगाएका छौं, खै उत्पादन कस्तो होला, अहिले भर्खरै फल्न थालेको छ।’ किवीको बिक्रीवितरण अझै सुरु नभएको उनले बताए। सोलुखुम्बुको सल्लेरी, नेले, गार्मा, जुनबेसी, लुक्ला र फाप्लु क्षेत्रमा किवीको व्यावसायिक खेती नै सुरु गरिएको छ। एउटा बोटबाट एक वर्षमा ५० किलोसम्म किवी उत्पादन हुने गर्छ। सुरुमा प्रतिरोपनी एक लाखसम्म लागत लाग्ने किवी खेतीले ६ वर्षबाट प्रतिरोपनी न्यूनतम ५० हजार आम्दानी दिने उनको भनाइ छ।

किवीको बजारसमेत राम्रो छ। गाउँमै बिक्री गर्दा पनि प्रतिकेजी किवीको मूल्य दुई सयदेखि चार सय रुपैयाँ पर्ने गरेको छ। काठमाडौंलगायत सहरी क्षेत्रमा सात सयदेखि आठ सय रुपैयाँमा बिक्री हुने गरेको छ।

नेपालमा किवीको इतिहास

नेपालमा २०४३ सालमा जापानी सेवा नियोग (जाइका)ले किवी भिœयाएको हो। जाइकाले बन्दिपुर, दामन र ककनीमा किवी लगाउन प्रोत्साहित गरेको थियो। इसिमोडले भारतबाट ल्याएर गोदावरीमा किवी रोपेको थियो। २०६६ सालमा दोलखाबाट किवी खेती थालिएको थियो। सोलुखुम्बुमा पाँच वर्ष पहिला किवी भित्रिएको हो।

कृषि विकास कार्यालयको पहलमा २०६९/७० सालमा पहिलो पटक सोलुखुम्बुमा किवी खेती सुरु गरिएको थियो। किवीको भारत, बंगलादेशलगायत खाडी मुलुकमा ठूलो माग छ। किवी निर्यात हुने फल मानिन्छ। धनी तथा पैसावालले खानेफलको रूपमा चिनिने किवीको विश्व बजारमा ठूलो माग छ।

अहिले अन्तर्राष्ट्रिय फलको रूपमा रहेको किवी उत्पादनलाई प्राथमिकता दिएमा फलफूलको निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न सकिने कृषि प्राविधिक सुमिता दाहाल बताउँछन्।

किवीका जात

किवीका मुख्य दुई जात हुन्छन्। बाहिर झुस हुने र झुस नहुने गरी दुई जात प्रचलित छन्। चीनमा पाइएको जंगली जातबाट नै उन्नत जातको विकास गरिएको श्रेष्ठले बताए। कुनै जातमा भित्र हरियो गुदी हुन्छ भने कुनैमा गुदी पहेलो तथा रातो हुने र झुस पनि नहुने जात विकास गरिएको छ। कुनै चाडै पाक्ने जात छन् भने कुनै ढिलो पाक्छन्। वरिष्ठ बागवानी अधिकृत श्रेष्ठका अनुसार हरियो गुदी हुने पोथी जातमा हेवार्ड, ब्रुनो, अलिसन, अब्बुट, मोन्टी, ग्रासी छन् भने अगौटे र रातो तथा पहेलो गुदी हुने जातमा रेड तथा गोल्डेन किवी बढी प्रचलित छन्। भालेमा टुमोरी, माचुवा, कोहीलगायत छन्। नेपालको इलाम, दोलखा, मकवानपुरको बज्रबाराही, गुल्मीको भार्से तथा सोलुखुम्बुका जंगलमा जंगली प्रजाति पाइएको श्रेष्ठले बताए। नेपालमा ठेकिफल, गाईथुने फल, फेमियाल्दो नामले यसलाई चिनिन्छ। विश्व बजारमा सबैभन्दा लोकप्रिय जात हेवार्डलाई लिने गरिन्छ।

नेपालको हावापानीमा चैत वैशाखमा फूल फुल्छ र कात्तिक, मंसिरमा फल टिप्न तयार हुन्छ। यो फललाई पहिला चाइनिज गुजबेरी भनिन्थ्यो भने पछि न्यूजील्यान्डमा व्यापारिक नाम किवी राखिएको हो। किवीको लहरा एक सय रहने किवीको अनुसन्धान गरिरहेका बागवानी केन्द्र फाप्लुका वरिष्ठ वाली विकास अधिकृत श्रेष्ठ बताउँछन्।

किवीको फाइदा

संसारमा पाइने २७ फलमध्ये सबैभन्दा पोसिलो फलको रूपमा किवीलाई लिने गरिएको छ। पोसिलो फल अनारमा ५ प्रतिशत खाद्यतत्व हुन्छ भने किवीमा १६ प्रतिशत। काँचो खाँदा अमिलो हुने किवीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त पाइन्छ। किवीमा औषधिजन्य गुण पनि पाइन्छ। पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ। किवी फलबाट जुस, जाम, वाइनलगायत विभिन्न परिकार बनाउन सकिन्छ।

भर्खर फल लाग्न सुरु गरेको किवीको बगैंचामा रमाउँदै बागवानी केन्द्र फाप्लुका वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठ। तस्बिर : सुरेन्द्र काफ्ले

- अन्नपूर्ण पोष्टवाट


 

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक

डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै

१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर