गोराखानी र खोरियाका ४४८ घरपरिवारलाई राहत स्वास्थ्य सामग्री वितरण, स्वास्थ्य संस्थालाई पनि सहयोग

गोराखानी र खोरियाका ४४८ घरपरिवारलाई राहत स्वास्थ्य सामग्री वितरण, स्वास्थ्य संस्थालाई पनि सहयोग

  • सोलुखुम्बु समाचार

  • बुधबार, जेष्ठ २६, २०७८

  • अनुमानित पढ्ने समय : 3 मिनेट

  • 646
    SHARES

  • गोराखानी र खोरियाका ४४८ घरपरिवारलाई राहत स्वास्थ्य सामग्री वितरण, स्वास्थ्य संस्थालाई पनि सहयोग

    सोलुखुम्बु । हिमालयन चिल्ड्रेन्स अफ खोरिया फ्रान्सले सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ९, १० र ६ मा स्वास्थ्य सामग्रीका साथमा राहत वितरण गरेको छ । संस्थाले वडा नम्बर ६ र ९ का ४ सय ४८ घरपरिवारलाई राहतका साथमा स्वास्थ्य सामग्री वितरण गर्दा वडा नम्बर १०, ९ र ६ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

    हिमालयन चिल्ड्रेन्स अफ खोरिया फ्रान्सका नेपाल संयोजक गोराखानी निवासी समाजसेवी गेलु शेर्पाको पहलमा सो सामग्री मंगलबार र बुधबार वितरण गरिएको हो । शेर्पाका अनुसार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीका ३४३ र वडा नम्बर ६ खोरियाका १०५ घरपरिवारलाई प्रति परिवार ३० केजी चामल, एक लिटर तेल, एक केजी नुन र २० थान मास्क वितरण गरिएको छ ।

    यस्तै सोलुदुधकुण्ड नगरपालिका १० टाप्टीङ, वडा नम्बर ९ गोराखानी र वडा नम्बर ६ खोरियामा रहेको स्वास्थ्य चौकी र वडा नम्बर ६ मा नै रहेको धुलिखेल अस्पताल, दोर्पू स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री समेत संस्थाले वितरण गरेको छ ।

    विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गरी राहत तथा स्वास्थ्य सामग्री वितरण गरिएको संयोजक शेर्पाले सोलुखुम्बु समाचारलाई बताए ।

    स्थानीय जनप्रतिनिधिको उपस्थितिमा स्वास्थ्य संस्थाहरुलाई अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्री वितरण गरिएको हो । जस अनुसार गोराखानी स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ३, अक्सिजन रेगुलेटर ३, अक्सिजन मास्क ८ (६ वयस्क र २ बच्चालाई लागि), नेबुलाईजर १ सेट, पिपिई ५ सेट, स्यानिटाइजर ५ लिटर, स्यानिटाइजर जार १, इन्जेक्सन अस्थालिन ४०, इन्जेक्सन इम्प्राभेन्ट ४०, भिटामिन सि १ बक्स, मास्क १ हजार थान प्रदान गरिएको छ ।

    यस्तै टाप्टिङ स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ३, अक्सिजन रेगुलेटर ३, अक्सिजन मास्क १० (८ वयस्क र २ बच्चालाई लागि), नेबुलाईजर २ सेट, पिपिई ५ सेट, स्यानिटाइजर ५ लिटर, स्यानिटाइजर जार १, इन्जेक्सन अस्थालिन ८०, इन्जेक्सन इम्प्राभेन्ट ८०, भिटामिन सि २ बक्स, मास्क १ हजार थान प्रदान गरिएको छ ।

    खोरिया स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर २, अक्सिजन रेगुलेटर २, अक्सिजन मास्क ४ (२ वयस्क र २ बच्चालाई लागि), नेबुलाईजर १ सेट, पिपिई ५ सेट, स्यानिटाइजर ५ लिटर, स्यानिटाइजर जार १, इन्जेक्सन अस्थालिन ४०, इन्जेक्सन इम्प्राभेन्ट ४०, भिटामिन सि १ बक्स, मास्क १ हजार थान र धुलिखेल अस्पताल दोर्पू स्वास्थ्य केन्द्रलाई अक्सिजन सिलिण्डर २, अक्सिजन रेगुलेटर २, अक्सिजन मास्क २, पिपिई ५ सेट, स्यानिटाइजर ५ लिटर, स्यानिटाइजर जार १, मास्क १ हजार थान प्रदान गरिएको संयोजक शेर्पाले जानकारी दिए ।

    संस्थाले जिल्ला प्रशासन कार्यालय सोलुखुमबु र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई पनि एक एक हजार थान मास्क प्रदान गरेको छ । हिमालयन चिल्ड्रेन्स अफ खोरिया फ्रान्स संस्थाले विगत १५ बर्षदेखि सोलुखुम्बुको विभिन्न ठाउँमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले यस पटक वितरण गरेको सामग्रीहरुमा करिब १९ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

    राहत तथा स्वास्थ्य सामग्री वितरणका लागि विभिन्न स्थानमा भएको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा, उपप्रमुख कल्पना राई, वडा नम्बर ६ का अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पा र वडा नम्बर १० का अध्यक्ष मिङमार छिरी शेर्पा लगायत उपस्थित थिए ।

    यस्तै आज बुधबार नै वडा नम्बर ६ का अध्यक्ष रामकुमार श्रेष्ठको पहलमा दोर्पू स्वास्थ्य केन्द्रलाई एक थान कन्सन्ट्रेटर र केही औषधि उपलब्ध भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार