समाजसेवी टेकवीर राईको निधन

सोलुखुम्बु । समाजसेवी टेकवीर राईको निधन भएको छ । क्यान्सर रोगवाट पीडित ४६ बर्षिय राईको आज काठमाण्डौमा निधन भएको हो । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत राई सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ का निर्वाचित वडा सदस्य समेत हुनुहुन्थ्यो ।

राईको निधनमा सोलुदुधकुण्ड नगरपालिकाले भोलि मंगलबार शोक बिदा दिएको छ । नगरपालिकाले आज शोक बक्तव्य जारी गर्दै भोलि नगरपालिका र अन्तरगतका कार्यालयबाट हुने सेवा प्रवाह बन्द हुनेछ । राईले नगरको विकासमा पु¥याउनुभएको योगदानका सम्मान र स्मरण स्वरुप मंगलबार नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयमा शोक विदाको घोषणा गरेको नगरपालिकाले जनाएको छ ।

नेकपा एमालेमा आबद्ध राईको निधनवाट अपुरणीय क्षति पुगेको भन्दै एमाले नेताहरुले दुख व्यक्त गरेकाछन् । मृतक राईको २ छोरा र श्रीमति छन् ।राईको श्रीमति बुद्धलक्ष्मी राई राजनीति र समाजसेवामा क्रियाशिल हुनुहुन्छ ।

केही दिन अघि श्रीमति बुद्धलक्ष्मी राईले श्रीमान्लाई केन्द्रित गर्दै सामाजिक सञ्जालमा लेख्नु भएको शब्दहरु यस्तो छ :

तिमी बिनाको यो शहरमा कसरी रहुला
जहाँ पुगे पनि तिमिसङ्गैको पाईलाहरु भेट्छु
तिमी बिनाको त्यो गाउँ कसरी जाउला
सम्झिदा तिमी सङ्गैको साथहरु देख्छु
यो बिस्तारा अनि त्यो बिस्तारालाई सुम्सुम्याउछु
तिमी बिना एक्लै कसरी ढल्कुला
जहाँ हजारौं मायाका आभासहरुले पोल्छ
कहिले अगि कहिले पछि कहिले सङै गरि हिडेका पाईलाहरु
सङ्सङ्गै बिसाएका चौताराहरु
कहिले मायाका कुरा, कहिले ख्यालठट्टाको गफ
कहिले रिसरागको पल
कहिले भबिस्यका योजना
कहिले बिगतका बितेका समय
कहिले बर्तमानको बर्णन
देश बिदेश घुमाएको यात्राको स्मरण
ठूलो जहाज चढेको सम्झना
कहिले कतै एक्लै नछोडेको
कहैल्यै एक्लो महशुल नगराएको
दिउँसो जहाँ जता गए पनि
बेलुकिको साथ एउटै भान्सा ,एउटै बिछ्यौना
बिर्सन सक्ने केही छैन पलहरु
हिजोको त्यो दिन र आजको यो दिन कसरी आयो
म भन्न सक्दिन न त तिमिनै भन्न सक्छौ
आज तिम्रो शरीर हेर्दा म कति रुनु
तिम्रो पिडा, छट्पटी, दुखाई र सबै हेरिरहदा कति दुख्छ मलाई
हिजो त सबै दुखसुख बराबर हुन्थ्यो
खोइ आज बाड्न सकिन
शरीर केही छैन दिमाग चङ्गा छ
आँखा भित्रै गडिसक्यो
तर तेज छ
खाना छैन
पानी छैन
औषधि छैन
म भनिरहेको छु भात पानी औषधि खाउ
अस्पताल जाउ सिरानी भरीका औषधि खाउ
२५ बर्षको सहयात्रामा सबै मान्यौ
अब मान्दिन भन्छौ
खादिन, मान्दिन, हुदैन, नल्याउ, नगर, गर्दिन, उठदिन, सक्दिन,
म के गर्नु …………….

यो शहरमा लाखौ मान्छेहरु होलान तेत्तिनै सपनाहरू
ती लाखौ मान्छेहरुमा म नि एक हु
तिमिलाई सन्चो बनाएर गाउँ लाने एक मात्र सपना
खोइ केले खोसायो
केले उडायो
कुन खालको हावाहुरी लाग्यो
ती डाक्टर र नर्सहरुको प्रयास
ती उदार मन र हातहरुको सहयोग
ती देबिदेबताहरुको भाकल
भगवान ईस्वर परमेस्वरको प्रार्थना
तिम्रो शरीरले, आत्माले गरेको अथक बल
ति सबै सबैको माया सद्भाव र कामना
तेहि क्यान्सर सेलले नै जितेको हो 
प्रश्न प्रश्न छ मन भरी
पीडा नै पीडा छ छाती भरी
आँसु नै आँसु छ आखा भरी
कसरि सम्हालु म
कसरी ??????
कसरी ???????