• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

कथा : रातभरि हुरी चल्यो

  • फाल्गुन २, २०७६
  • सोलुखुम्बु समाचार
alt

~इन्द्रबहादुर राई~

छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ ।

घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र आमा दुवैले माथि धुरीतिर हेरे । दाउरा बालेको धूवाँले रङ्गिएका काला टिनहरू, ऐले कुनै कुनैमा पानीका मसिना दानाहरू पसिना आएका झैं देखिन्छन् । धूर्पिस र पिपलीको जस्तै काला भाटाहरूले चारपाटे टिनका ती ८०–९० टुक्राहरूलाई हावादेखि पक्रिराखेको छ ।

छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ ।

घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र आमा दुवैले माथि धुरीतिर हेरे । दाउरा बालेको धूवाँले रङ्गिएका काला टिनहरू, ऐले कुनै कुनैमा पानीका मसिना दानाहरू पसिना आएका झैं देखिन्छन् । धूर्पिस र पिपलीको जस्तै काला भाटाहरूले चारपाटे टिनका ती ८०–९० टुक्राहरूलाई हावादेखि पक्रिराखेको छ ।

“हावा पनि यै डाँडामा चैं कत्ति चलेको ! त्यसको सास !” अलिक हावा मत्थर भएर टिन बज्न छोडेपछि कालेकी आमाले भनी अनि अँगेनामा आगो जोर्न लागी ।

“पटक्क थामिँदैन !” कालेको बाबुले पनि भन्यो– “आज पूरा एक हप्ता भयो !” भनिसकेको पनि थिएन फेरि पानी ध र र र र वैरिन थालिहाल्यो…

“पानी पर्दा अब फेरि पैरोको डर” –भन्यो कालेको बाबुले– “यो चैं ठाउँमा बास बसाउन जानिएन रैछ !”
पानी झन् साह्रो दर्किन थाल्यो । छप्परमा टिन कराएको कान खाने आवाजमा अँगेनामा आगोको ज्वाला लप्कँदै नाच्न लागेको छ । अझ जोडले झरी परेपछि त छुट्टाछुट्टै थोप्लाको शब्दहरु सुनिन छोडेर एउटै लामो आवाज दरररररमा चारै दिशा डुब्यो । ऐले अब सब बगाएर लैजान्छ, पहिरोले तान्छ, सब सोहोरेर माथिबाट छोप्ला…
यो घर पहिरोले लाँदैछ, हामीलाई तान्दै लाँदैछ, जस्तो लाग्यो ।

“हे महाकाल बाबा ! तिमी छौ राख्ने बचाउने !”

बतासले हिर्काएर तेर्साे बछेटा भित्ताको तख्तामा ठोकिँदैछ । तख्ता जम्मै भित्रपट्टि पनि भिजिसकेको छ ।
सधैं भित्तामा सटाइएको टाँड अलिक पर पानी नखस्ने ठाउँमा सारिएको छ । काले बैनीलाई समातेर निदाएको छ ।

“तेरै जिद्दीले यस्तो ठाउँमा घर बनाएको !” लोग्नेले एकाएक झोकिएर भन्यो– “नभएदेखि मज्जासँग पुलिस काम गरेर बजारबीचमा बस्दै थियौं, हावाको डर न पैरोको डर….”

स्वास्नीले केही भनिन ।

“बडा बारी गर्ने भइस् ! ठूलो भाग खालिस् ।” उ अझै फत्फतायो रिसले ।

“तिमी जाऊ न सुत ढुक्कसँग…” कालेकी आमाले ऐले भनी– “असारे झरी यस्तै त हुन्छ, के गर्नु, बर्सेपछि यस्तै हुन्छ; म¥यौं पैरोले भने भ¥यौं म¥यौं, के गर्नु, काल आयो भने….”

“काल खोज्न आइस्, मर्छेस् पनि ।”

पानी अलिअलि कम हुँदै आयो । स्वास्नीले मगमा चिया बनाइदिई ।

निक्कै पर्न कम भएपछि बलेँसीदेखि पोखिएर खसेको पानी पनि सुनिन थाल्यो ।

चिया खाँदै उसले सोध्यो– “कति बज्यो होला ?”

“खै कुन्नि कति बज्यो; बज्यो होला एघार बार…” कालेकी आमाले भनी अनि ‘हाई’ काढी दुइपल्ट ।

“अब त रहन्छ होला कि ?”

“रहनुपर्ने…”

चिया खाइसकेर उ उठ्यो । दैलोतिर जाँदा चुहेको पानी थापेको  भाँडा लात्ताले हिर्काएछ पानी छताछुल्ल भयो ।

“कस्तो आँखा नहेरेको !” भन्दै स्वास्नीचाहिँले बोरा ल्याएर ओछ्याई ।

उसले केही भनेन ।

दैलो खोलेर बाहिर अँध्यारोमा सुन्दा रुङदुङ खोला भयानक तौरले पाखै थर्काएर गर्जँदै रहेछ । बीच बीचमा अरू किसिमको आवाज पनि भएको जस्तो लाग्दा उसले खोलाले सिङ्गै खनिऊको रूख बगाएर ल्याएको वा पहिरो झरेर माटोले खोलाको पानी जम्मै पहेँलो भएको अन्दाज काट्यो । अँध्यारोचाहिँ आफ्नो हात नदेखिने अँध्यारो छ ।

फर्केर घरभित्र नपसी उसले फेरि बाहिर अँध्यारोदेखि नै स्वास्नीलाई करायो: “टश ल्याऊ, टश !”

सिरानीमुनिदेखि झिकेर कालेकी आमाले पुरानो कालो टर्चलाइट पुर्‍याइदिई ।

“गोठको च्यादरहरू सब उडाइदेको छ ।” भन्दै कालेको बाबु टर्च बालेर घरमुनि झर्‍यो । आँखा आकारको टर्चको ज्योति भिजेका भूइँ र घाँसतिर देखियो ।

कालेकी आमा पनि पछि पछि आई ।

गोठमा पस्दा भूइँमा थ्याच्च शरीर टेकाएर बसिरहेको गाई जुरुक्क उठ्यो औ एकपल्ट ‘डाँ’ करायो । छानादेखि चुहेको पानीले गाईको पिठ्यूँ भिजेको छ, औ रौंहरू सब टाँसिएका छन् ।

उडाएको टुक्रा च्यादरहरूले बटुलेर कालेको बाबु गोठको छप्परमा चढ्यो । टिनहरू मिलाएर ढुङ्गाले थिच्न थाल्यो ।

सिमसिमे पानी परिरहेकै थियो ।

कालेकी आमाले भूइँमा खोजेर एउटा ठूलो लेउ परेको चुच्चे ढुङ्गा उखेलेर छप्परमा लोग्नेलाई चढाइदिई ।

त्यसलाई छप्परमा लाएपछि उसलाई लोग्नेले भन्यो : “तिमी जाऊ; निकै बाक्लो पर्नथाल्यो फेरि ! म अलिकति घाँस लाइदिएर आउँछु ।”

“अब हिँड न सँगै…” स्वास्नीले भनी । कालेकी आमा पर्खिरही ।

“तिमी घाँस हाल्दै गर तब, म यत्ति मिलाएर …ए, टश मलाई कसले देखाइदिन्छ फेरि ?.. पर्ख पर्ख अब सकिहालेँ…।”

पर्खंदा पर्खंदै कालेकी आमाको अनुहारभरि र मजेत्रोलाई पनि छिचोलेर पानी बग्न थाल्यो । बल्ल्बल्ल सकेर कालेको बाबु झ¥यो । हतार हतार घाँस हालेर दुवै घरमा पसे ।

पानी फेरि मच्चिँदै आयो ।

लुगा फेरेपछि अब दुवै नाटकमा माग्नेको पार्ट खेल्न तयार भएका जस्ता देखिए । जुलूलू आगो फुकेर दुवै सुक्न र सेकिन लागे ।

“चिया छ ?” उसले फेरि सोध्यो ।

“अब नसुत्ने र ?” उत्तरमा प्रश्न भयो ।

“तिमी सुत; मलाई चिया बसाइराखिदेऊ ।”

कालो कितली तानेर कालेकी आमाले त्यसमा मगले उभाएर पानी हाल्न थाली ।

“भरी बसाइदेऊ ।” उसले फेरि भन्यो । स्वास्नीले त्यसै गरी ।

कालेको बाबु उँभो छप्परतिर हेर्दैथियो फेरि उठयो अनि दाम्लो बनाउन ल्याएर सिउरिराखेको डोरी झिकेर बलोमा बाँध्नलाग्यो । अर्को छेउ भूइँमा कहाँ बाँधुँ भनेर खोज्दै थियो, जाँतो देख्यो ।

“त्यो ल्याऊ…….”

“किन ?”

“हावाले कस्तो गर्छ ।”

कालेकी आमाले केही भन्न सकिन । कुदाउँदै लगेर जाँतो खुट्टानेर पुर्‍याइदिई ।

डोरीको लठारो जाँतोमा कसेपछि कालेको बाबु केही निश्चिन्त भयो ।

कितलीमा रङ छ्वास्स हालिराखिदिएर कालेकी आमा त्यही टाँडमा सुत्न चढी ।

कालेको बाबु एक्लै विचारमा प¥यो । चिया उम्लेर कितलीको टुटीदेखि फिँजदार पानी आगोमा खस्दा मात्रै ऊ झस्कियो विचारदेखि ।

चिया बनाउँदै थियो, हुरूरूरू एकपल्ट हावा चल्यो अनि छप्परमा ठङ्ग केही आएर खस्यो । उत्तिसको टुप्पो हो कि ? तर कालेको बाबु एकदम तर्सियो ।

हावा पानी नचलेर शान्ति जस्तो भएपछि बत्ती त्यत्तिकै नमारी ऊ पनि ओछ्यानमा सुत्न गयो ।

दिउँसो छेको मूलाको बीउ सब बगायो होला; उसले सम्झ्यो– गराको डील भत्केर कति सयपत्रीका बोटहरू पनि भाँचिए होलान्; भोलि बिहानै उठेर पहिला काम घरमाथि भीमसेनपातीको झ्याङदेखि उता कुलो काटेर लैजानुपर्छ…

अलिकति निदाएको थियो कि ? –ब्यूझँदा कता हो कता हावा पानी फेरि चल्दै रहेछ । घरै उडाउला जस्तो गर्दैछ; जुरुक जुरुक उचाल्दैछ । वरिपरिका रुखहरुमा ठोकिएर बजेको हावा–पानी भयानक भएर गर्जंदैछ…
उसले स्वास्नीलाई ब्यूँझायो :

“सारो हुरी चल्यो, कसो गर्नु हँ, माइली ?” कालेकी आमाले जवाव गर्न पाएकै थिइन, धडडड गरेर घरको भूइँ सब हल्लियो !

“के भयो, उठ उठ…”

टर्च टिपेर उ दैलो खोल्न पुग्यो । कालेकी आमा पनि आएर पछिल्तिर उभी । टर्च लाएर राम्ररी हेर्दा आँगनको एक पाखै ह्वात्तै धस्केर गएछ । एउटा किम्बुको रुख पनि बिस्तारै ढल्केर त्यै पहिरो गएको माथि लड्यो ।

“अब कसो गर्नुहोला !…” ऊ डराएर रोई ।

“तिमी जाऊ । केटाकेटीलाई उठाऊ ।” वृष्टिको आवाजलाई उछिनेर उसले स्वास्नीलाई अह्रायो । स्वास्नी गएपछि टर्च मारेर उ दैलोमा उभिरह्यो, हेरिरह्यो…

ऐले कता कता त्यो वृष्टि र कुइरोभित्र उसलाई बिहान हुँदै आएको आशाको धमिलो प्रकाश देखे जस्तो लाग्यो । शंकाको निवारणमा घरभित्र डोकोले छोपेको ठूलो भाले पखेटा भ्याट्भ्याट् गर्दै बास्यो–

‘कुखुरी– काँ’,
‘कुखुरी इइइइ काँssss….’

*****************

बिहानै ढुङ्ग्रो काँधमा बोकेर बजार आउन लाग्दा कालेकी आमालाई बोराको घूम ओढेर फरुवाले आँगनमा भल काट्दै गरेको कालेको बाबुले कराएर सम्झायो: “काँटी– लामो काँटी ल्याउन नभुल्नु है; ह्याँ दिनभरि सब ठोक्नुपर्छ !”

“सारो पानी पर्‍यो भने काले इस्कुल नजावस् आज”– भनिराखेर उ उकालो आई । आउँदा एक ठाउँ ढिस्कुना झरेर बाटो पनि रोकिएको रहेछ । बिहान सधैँ बाटोमा भेटिने कसैलाई पनि उसले आज भेटिन ।

डेढ घण्टाजति पछि ऊ कचहरीनेर मोक्तान बाबुको दैलोमा आइपुगी । यहाँ आधा सेर खान्थ्यो । दूध भर्दैगर्दा “भित्र आएर बसन है एक छिन, एक प्याला तातो चिया खाएर जाऊ…” भनेर भर्खरकी केटी राम्री बाबुनीले दया देखाई । छाता मारेर दैलोमा ठड्याई कालेकी आमा भित्र पसी ।

“के सारो चल्यो हावा–पानी रातभरि…” कालेकी आमाले भनी– “हामी त रातभरि झिमिक्क गरेका छैनौं !”

“हामी पनि त !” बाबुनीले भनी– “रातभरि हावाले यो खिर्की घिटिक घिटिक घिटिक घिटिक हल्लाईरह्यो– मलाई त निद्रै लागेन । कस्तो हावा चलेको त्यस्तो !”

“ए त्यति मात्तै पो ?” काली काली अनुहारकी गतिलो शरीरकी चालीस पुग्न आँटेकी कालेकी आमाले उपहासमा भनी– “हाम्रो झण्डै घरै उडाएको हावाले ! यहाँ त के, पैरोको डर छैन तिमारलाई । हाम्रो आँगन जम्मै लग्यो । अब घरै लानलागेको छ । पानी पर्‍यो भन्न पाउँदैनौं हामी, गाईलाई भोकै राख्न भएन, घास काट्न दगुर्नैपर्छ । राति निद्रा आएन भनेर दिउँसो सुत्न पाउँदैनाैँ हामी…”

“भन्नु मात्रै त हामीलाई राम्रो छ नि…” बाबुनीले साँच्चै सहानुभूतिमा भनी– “छप्पर चुहिएर लुगाहरू किताबहरू सब बिगारिएको छ । यै बेला बिजुली बन्द हुन्छ….”

“हैन हैन, हामीलाई हेरी केही आपद छैन तिमारलाई ।…इः अब पानी पर्‍यो कि म याँ छु, घरमा के भयो होला भनेर मन भुट्भुटिन थालिहाल्यो…मेरा मकैहरू पनि सब भाँचिदियो हिजोको हावाले, क्यै राखिदिएन….”
कालेकी आमा त्यहाँदेखि निस्की अरूतिर दूध बाँड्दै गई ।

व्यर्थैमा हामीले बारी गर्ने भएर यो आपद बेसाएको– उसको मनमा लाग्दै आयो– नत्र सुखसँग बजारमै बसेका थियौं । महिना मर्नासाथ तलब पाउँथ्यो, सुरुबुरु पुगेकै थियो । केटाकेटीलाई स्कूल जानु नजिक; पानी भर्न जानलाई सिकसिको थिएन; सडक सजिलो राम्रो, न हावाको डर न पहिरोको डर । बित्थैमा नदुखेको कपाल बारी लिने भएर दुखाएको….

यो बारी लिएको दिनदेखि फूर्सदको नाम छैन आफूलाई । औंलाहरू हँसियाले काटेर, हत्केला गोबर र धूलोले चिरिएर देखाइसक्नु छैन । जीउ–जीउ झुम्रो भएर गइसक्यो । एक दिन घर छाड्न सकिँदैन, टाढा घुम्न जाने कुरा त असम्भवको इच्छा । यत्तिकै जोतिएर मर्नुपर्छ…

यति जोतिएर मरिरहेको खालि यति खान र यति नै लाउनलाई न हो ? फेरि खान पनि के खाएका छौं औ लाउन पनि के लाएका छौं र ? अरुले देख्ला भनेर यो खानेकुरा लुकाउनुपर्छ, यस्तो लाएर लहरमा अरूसँग उभिन शरम लाग्छ…

मनमा उसको अनेक रिसहरूको हुरी चल्यो ।

ऊ अब थानाको दोरङ्गाकाहाँ दूध दिन पुगी ।

बन्द दरबाजाको ऐनामा ठक्ठकाएर ‘दूध’ भनेपछि एउटी मैलो जामा लाएकी केटी आएर दूध थापी । ठेकाभरको डेढ सेर हाल्दै गर्दा भित्रबाट दोरङ्गिनी कराई:
“फाल्टु तीन सेर भोलि ल्याइदेऊ है, बोजु, खीर खानलाई । राम्रो ल्याइदेऊ है !”

एकछिन कुन्नि किन ढिलाएपछि उसले केटीलाई भनी पठाई ः– “पुग्दैन अरे भन्दिनू । ठेक्का पुर्‍याउनै मुस्किल पर्दैछ । हावापानी चलेर…भोलि त आउँछु कि आउदिनँ । अरूको तिर खोज्न भन्नू ।”

सुनिछ दोरङ्गिनीले र दरबाजामा निस्केर कालेकी आमाको भिजेको लुगाहरुलाई हेर्दै भनी:
“तिमीले ल्याइदेऊ न । अरूकोमा म कहाँ खोज्न जानु यस्तो पानीमा ? तिमीले नै ल्याइदेऊ । दीपकको जन्मदिन छर पोत…”

“पुग्दैन….” थकित कुण्ठित स्वर उसको अन्तरबाट निस्क्यो । दोरंगिनीलाई उसले हेर्नलागि– कति सफा लुगाफाटा, कति सेतो अनुहार, हातहरू कति राम्रा । उसको लोग्नेलाई सुख छ, घरभरि चौकी पलङहरू र दराजमा सारीहरू । माटो हिलो छुनुपर्दैन, गोबर सोहोर्नुपर्दैन, हावापानीदेखि डराउनु पर्दैन ।

“पुग्दैन…म भोलि यस्तै हावा–पानी भयो भने आउँदिन पनि ।”

“हामी अनि त दिनभरि फिक्कै चिया खानु ? कस्तो कुरा गरेको ? ल्याइदेऊ है । जसरी पनि ल्याइदेऊ !”
कालेकी आमा केही नभनी सिँढीदेखि झरेर बजारतिर निस्की ।

बाटोमा हिँड्दै उ आफैं फतफताई :
अहँ, यसरी दिनरातको पहिरो र हावाको डरमा बाँचेर एक एकर जमिनको माटो वर्षमा दुइचोटि पल्टाएर जीविका गर्ने मेलो परिवारको हत्या हो । बेचिदिन्छु दुबै माऊ गाई र कोरलीहरू सब सोहोमोहो दाम मिलाएर । बारी पनि बेचिदिन्छु । घरको टिन र काठपात, गोठको पनि, सब बेचिदिन्छु । पाँच छ रुपियाँको सानो कोठा लिएर बजारैमा बस्छु । म चोकमा सागसब्जी बेचिहाल्छु– ठूलीकी आमालेजस्तो । उसले बढई काम, राज काम जानेकै छ । भएन चौकिदार काम पनि पाइहाल्ला, दुइटा छोराछोरीलाई हल्कै पार लाउँछु । म बस्दिनँ त्यस्तो शून्ने ठाउँमा…

निर्णय गर्न सकेपछि उसलाई मनमा ढुक्क लाग्यो । खुट्टाहरू दुखेको पनि हरायो । पानीले भिजिसकेको पनि अब उसलाई पर्वाह लागेन । त्यस्तै खुशी लागेर उ बीच गल्लीको भुजा दोकातिर गई । दुई आनाको चना मटर किनेर पोका झोलामा हाली । फूल मटर मात्रै किन्न आएकी एउटी दर्जिनीलाई कालेकी आमाले सोधी :
“तिमीहरू बसेको छेउछाउमा कतै कोठा खाली छैन, बैनी ?”

“छैन, किन दिदी, तिम्रो तिर पैरो गयो कि…?”

“हैन, म बजारतिर घर खोज्दैछु । पानी, टट्टी अलिक नजिक भाको; दश पन्द्र रुपेसम्मको ।”

“एउटा कोठा त छ”– खिनौरी दर्जिनीले भनी– “बिजुलीको अलग्गै दुइ रुपे गरेर बाह्र रुपे पो तिर्दै थियो एउटा मदिसेले । त्यो गयो । भोलि म खबर गर्छु नि, दिदी ।”

“म आफै भोलि तिम्रोमा निस्किन्छु, यति बेलैतिर निस्किन्छु ।”

उ त्यहाँदेखि छाता ओढदै मालगोदामतिर गई । अब दुइ ठाउँ दूध बाडेर फर्किनु थियो ।

बीबी गुरुङको बरण्डामा पुग्दा त्यहाँ बिहानै घरभरि मानिसहरू जम्मा भएका थिए, दुइ तीनजना बाहिर उभिएर पनि छाता ओढेर बात गर्दैथिए । कालेकी आमा पछिल्तिरबाट घुमेर दूध दिन गई । के भयो होला उसले पत्तो पाउन सकिन । लोग्ने स्वास्नी दुइमाको एक जनालाई केही भयो होला; छोराछोरी छैनन् । मोटी स्वास्नी दिनभरि खडाउ बजाउँदै भित्र बाहिर गरिरहन्छे– एउटा सेतो बिरालु (निनी) बोकेर परपरको घरतिर पनि पुग्छ । लोग्नेको माथि लेडेन ला सडकमा ड्राइक्लिनको दोकान छ ।

“के भयो ? किन मान्छेहरू भेला भाका ?” “उसले पल्लो घरबाट आएर दूध थापिदिने आइमाईसँग सोधी ।

“निनीको आमा राती लडेर होशै छैन, बेहोश छ ।”

“काँ लडिछ ?”

उसले सुनी– रातिको ठूलो पानीमा सेतो बिरालो दैलो थुन्दा बाहिर परेछ । कति म्याऊ म्याऊ करायो होला तर पानीले सुनिँदै सुनिएन । अलिक पानी थामिँदा बिरालोको खोजी भयो । बाहिर खोज्दा, कति बोलाउँदा पनि बिरालो आएन । तलतिर खोज्न जाँदा खडाउ चिप्लेर निनीकी आमा तल बाटोमा बजारिन पुगिछ । हतार हतार डाक्टर बोलाइयो; डाक्टर पनि छिटो आएन । ऐलेसम्म होश फर्केको छैन ।

“जाबो बिरालोले गर्दा पो रछ त !” कालेकी आमाले बिस्तारै भनी– “यै हैन त्यो बिरालो ?”

सेतो बिरालो चुल्हाको तातोमा न्यानो मानेर भुत्ला चाट्दै बसिरहेको थियो ।

कालेको आमा त्यसै त्यहाँदेखि उठेर हिँडिहाल्न सकिन । दैलोको काठमा बसिरही ।

बस्दा बस्दै उसले लोग्नेचाहिँ रूँदै बाहिर आएको देखी । उसले सुनी– त्यो आइमाई मरिछ ।

“कस्तो उदेक, हत्तेरी !” भनेर कालेकी आमाले ढुङ्ग्री झोला काँधमा भिरी ।

चौकीदारनीको घरमा एक पावा दूध भरेर बटुको लिएर आएकी सानी छोरीलाई पनि अलिकति तुक्र्याइदिएपछि कालेकी आमा भूइँको बोरामा थ्याच्च बसी ।

चौकीदारनीले तातिरहेको चिया उतारेर अँगेठीमा दूध बसाउँदै सोधी: “बैनीहरूकोतिर कस्तो छ ? हुरीले सारो बिगा¥यो होला है ! सखाप पा¥यो होला…”

कालेकी आमाले के सम्झिरहेकी थिई, केही भनिन ।

फेरि चौकीदारनीले भनी:
“यता बजारमा त क्यै आपद् छैन, कतै क्यै डर छैन । तर कमान बस्तीतिर कति दुक्ख छ, कस्तो बिजोग छ, मलाई थाहा छ । त्यै देखेर हाम्रा बाबुहरू बजार पसेका….”

कालेकी आमाले ऐले अब अलिक बलियो भएर भनी:
“आपद् विपद् जहीँ पनि छ । हो, हुरीले बिगार्‍यो तर अब सबै ठीक बनाईहाल्छौ, कुनै नसकिने काम होइन त्यति गर्न । आफ्नो घर छ । गोठ छ, गोठमा गाईहरू छन्, बारी छ, बारीमा तीस चालीस झ्याङ बाँसहरू छ, गगून र नेभारोका रूखहरू छन्, काँक्राको लहरा आकासतिर जाँदैछ…हुरीले कति पो बिगार्न सक्छ र ?, इ अब गएर बनाइहाल्नुपर्छ…।”

अनि जिब्रो खुल्काउने तातो चियाको घुट्का हतारहतार निलेर ऊ बजारमा काँटी किन्न आइपुगी ।
अनि मनमनै भन्दै थिई– एकदम ढिलो भइसकेछ, आज मलाई कालेको बाबुले मार्छ !

(श्याम ब्रदर्स दार्जिलिङबाट सन् १९७० मा प्रकाशित राईको कथासङ्ग्रह ‘विपना कतिपय’ बाट)

(स्रोत : बाह्रखरी दैनिक डट कम)

सम्बन्धित समाचारहरु

कोरोनाको लक्षण नभएका ...

काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्ष ...

कर बुझाउने समय असार ...

काठमाडौँ । आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार जेठ २५ गत ...

रुकुम घटना : मिडियाम ...

काठमाडौं,२१ जेठ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यमम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved