• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

अमेरिकावाट नेचासल्यानका 'वडा अध्यक्ष'लाई चिठी

  • जेठ ३, २०७७
  • सोलुखुम्बु समाचार
alt

प्रिय साथी राजन,
सम्झना ।

आरम्भ मै तिमीलाई “तिमी” भनेर सम्बोधन गरी रहदा अरुलाई अप्रिय लागेमा क्षमा चाहन्छु । जननिर्वाचित जनप्रतिनिधीलाई सार्वजानिक रुपमा आदरवाची शब्द प्रयोग नगर्दा मलाई पनि त्यत्ति निको लागेको त छैन नै ? तथापी तपाई, जी, हजुरीले सम्बोधन गर्दै गर्दा तिम्रो र हाम्रो आत्मियतामा परचक्रिपना झल्किने रहेछ ।
यसैले मैले यसरी नै बोले है...।

“...आराम रही आरामको कामना...”
पहिले-पहिले खामबन्दी चिठ्ठीहरुको आरम्भ विन्दु यस्तै हुन्थ्यो । समय र प्रविधीले यस्ता अनेकौं औपचारिकताहरु डेड एक्सपायर्ड नै बनाई छोड्यो । र बनायो यो विशाल संसार नै एउटा सानो गाउँ । एक थान मोबाइल भित्रै हाम्रो गाउँ र सिङ्गै संसार अटेको छ । त्यसैले त अचेल सञ्चो-बिसञ्चो निमेषभरमै थाह हुन्छ ।

साथी राजन,
सयौं सम्भावनाहरुको शहर त्यागेर सबैले छोडेको गाउँ फर्केको तन्नेरी मान्छे हौं तिमी । शहरको झिलीमिली छोडेर गाउँमै उज्यालो बाल्नुछ भन्दै उल्टो बाटो हिडेको तिमीले गाउँमा कति अध्याँरो हटाउन सक्यौ ? फराकिला, चिल्ला अनि कालोपत्रे चत्रपथ र राजमार्ग भूलेर बस्तीमै साँगुरो बाटो खन्नुछ भन्दै गाउँ पसेको तिमीले कति बाटो खन्यौ ? यी सबैको लेखाजोखा र प्रश्न गर्ने हिम्मत मसँग एक रति पनि छैन । म आफु त यसै गाउँदेखि शहर हुँदै देशै छोडेर परदेशीएको आम मान्छे... ।

...तर फर्कनु चाहि छ नै छ आफ्नै गाउँ र बस्ती... ।

सिङ्गै देश छातीमै अटाएर बाँचेका म जस्ता हजारौं “म”हरु यो कहरमा आफ्नो गाउँबस्ती सम्झदै एकान्तबाँसमा बस्न बाध्य छौं । खै रहर हो कि बाध्यता ? परदेश भनेको पर-देश नै हुँदो रहेछ । यो पर-देशबाट घरदेशका सम्झनाहरु सम्झी सक्नु छैन । र बिर्सी सक्नु कहाँ छन् र हाम्रो पनि दैनिकीहरु...। तिमीलाई थाह छ, म यत्तिबेला यो कहरको केन्द्रबाट यी अक्षरहरु लेख्दैछु ।

"हाम्रो गाउँ सुरक्षित राख्नु पर्छ है..." भन्दै अस्ति तिमीले रखबारी गरेको खबर र तस्बिरहरु हेरे । अप्ठयारा र अभावहरुमा हामी छौं है... भन्दै सान्त्वना र सहयोग बोक्दै हिडेको पनि देखें । जोखिम त तिमी माथि पनि त्यत्तिकै छ । तिम्रो पनि आमा–बाबा, श्रीमती र बालबच्चाहरु छन् । जसको सम्पूर्ण भरथेग तिमी नै हौं । यो विषम समयमा तिम्रो नेतृत्व, जिम्मेवारी, कर्तव्य र कर्मलाई मेरो उच्च सम्मान छ साथी ।

यत्ति लेख्दै गर्दा भन्नेहरुले चाहि तिम्रो स्तुतिगान लेखेछ भन्लान् । तर यसो होईन । तिमीले हिजो कुन पार्टीको झण्डा बोक्यो र कुन चिन्हमा चुनाव जित्यो ? त्यो मेरो सरोकारको विषय पटक्कै होईन । र तिमीले भोली कसको पक्ष वा विपक्षमा दान-मतदान गर्छौं त्यो पनि चासोको पाटो होईन । विद्यार्थीकालमा स्वावियूको निर्वाचनमा समेत भोटको अनुभवबाट बञ्चित राजनैतिक सम्बद्धता बिनाको एक स्वतन्त्र मान्छे हुँ म । मलाई पार्टीमा भन्दा व्यक्तिमा विश्वास छ । र तिमी जस्तो व्यक्ति माथि आज गर्व छ । भोलीको त के कुरा गर्नु आफैमा अनिश्चित् र अज्ञात छ ।

यसो गम्छु अनि घोत्लिन्छु ।
सपनाहरु पनि किन गाउँकै देख्छु म ? यो अग्लो भवनमाथि उभिएर पनि मेरै घर किन सबैभन्दा सुन्दर लाग्छ मलाई ? कोठाको भित्तामा मैले गाउँकै तस्बिर किन झुण्डाएको हुँला ? र यो पल सबैभन्दा बढि तिमीलाई नै किन सम्झेको होला मैले ?

सायद यी प्रश्नहरुको जवाफ तिमीले दिईरहेका छौं । जसै तिमी सुगम शहरबाट गाउँ फर्क्यो...। त्यसो नहुँदो हो त तिमीले पनि यो पल म जस्तै आफैले आफुलाई अनुत्तरित प्रश्न सोधीरहेका हुन्थ्यौं सायद । यसैले तिमी भोलीको दिन सम्झदै गाउँ फर्केको उर्जाशील मान्छे थियौ/हौं । अध्याराँ, अभाव र अप्ठयाराहरुमा बस्तीको उज्यालो बोकेर वास्तवमै सुल्टो बाटो हिडेको मान्छे हौं तिमी । उल्टो त हामी पो हिडेछौं...। मैले माथि पनि लेखेथें नि-

“फर्कनु चाहि छ नै छ आफ्नै गाउँ र बस्ती... ।”

र अन्तमा,
तिमीलाई पक्कै थाह हुनु पर्छ तिमीले हिडेको बाटोले कुन गन्तव्यमा पुर्याउछ । सबैको साथी बन्दै बाँकी यात्राको लागि पनि हृदयभरीको शुभेच्छा ।
यत्ति ।

तिम्रो साथी
प्रशान एलुङ राई
नेचासल्यान गाउँपालिका
वडा नं.-५, सोलखुम्बु
हालः संयुक्त राज्य अमेरिका

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved