• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

संस्मरण : प्रिय सल्लेरी !

  • जेठ ७, २०७७
  • सोलुखुम्बु समाचार
alt

बद्री भिखारी - रूम्जाटारको मैदानमास्तिर बर्नालुको उकाली पार गर्दै टोड्केबाट केही अगाडि पुगेपछि पहिलोपल्ट तिमीलाई देखें । तिमी त यौवनले छपक्कै मुखमुख भएकी सेतो भूइँकुइरोको खास्टोले मुहुडा छोपेर बसेकी महलकी एक सुकुमारीजस्ती पो लाग्यो । शरदको नीलो आकाश सर्लक्कै सरेर पृथ्वीमा उत्तानो परेर रमाइरहेका बेला सेतो कञ्चन बादलुले ठाउँठाउँमा गुप्तअङ्ग छोपिदिएका पो हुन् कि झैं देख्ता कुनै सिद्धहस्त कलाकारले बनाएको कला र सौन्दर्यको सुन्दर संयोजनजस्तै लाग्यो तिमी ।

तिमी लज्जावती झार झैँ लजाएर बसेको देख्ता मलाई त तिम्रो नाङ्गो तस्वीर हेर्न हुटहुटी जागेर आयो । तर नाङ्गो भएपछि त सौन्दर्यको रहस्य नै कहाँ रहन्छ र हगि ? कहाँ रहिरहन्छ तिमीलाई हेर्ने कौतुहलता ? सत्य होला, तिम्रो सौन्दर्यको बखान गर्न कहिले फेरि तराई झरूँ र प्रियजनलाई सुनाऊँ भन्ने छटपटाहटले व्यग्र बन्दै गएँ ।

मैले तिमीछेउ नपुग्दै ‘बख्खु र दोचा’ लगाएर हिमाली क्षेत्रमा बसेका, प्रकृतिले गालाभरी लाली दलेका युवक–युवतीका अनुहारसँग तिम्रो तुलना गरें । उमेरको भञ्ज्याङमा पुगेर पनि आनन्दको श्वास फेर्दे ‘ऊँँ मणी पद्मे हूँ’को मन्त्र जपेर स्फटिक मालामा मुस्कुराइरहेका बूढाबूढीहरूसँग पो तुलना गरें । सल्लेरी, मैले त तिम्रो सौन्दर्यलाई लिएर तिम्रा नाममा यति बिम्ब टिपेंं सल्लेरीमा पुग्नासाथ तिम्रा नाममा कविता बनाएँ र त्यही कविताभित्र म पात्र भएर छिरेँ ।

तिम्रो सम्मोहनले कति पग्लिएछु हाटबजारमा देखिने स–साना नानीबाबुलाई पासाङ–सुङ्दरे देख्तोरहेछु र तिनीहरूको अवोध अनुहारलाई आफ्नै छोरीछोरासँग जोख्तोरहेछु । घर सम्झेर आँखाबाट सोलुखोला बग्दोरहेछु । तिम्रो आँगनमा पुग्नासाथ मैले तिमीलाई जोजोसँग तुलना गरेँ, ती सप्पैको एउटै रूप तिमी हौ भनेर निकै पछिमात्र थाहा पाएँ ।

प्रिय सल्लेरी, मेरो छिमेकी जिल्ला सोलुखुम्बू पहिलेदेखि नै निकै प्रिय लागेको हो । सानो छउन्जेल दूधकुण्डका नामले सोलुखुम्बूलाई चिन्थेँ र पवित्रभूमि सम्झेर स्वस्थानी ब्रतकथाका महादेवको वासस्थान त्यतै होला भनेर कल्पना गर्थें । देवताहरूका पनि देवता महादेवको राजधानी सोलुखुम्बूमै पर्दाेहोला भनेर छाती फुकाएर गर्व गर्थें ।

सतीदेवीले गृहप्रवेश गर्दा घरका कुनाकानीमा देखिएको जालो महादेवको मायाजालले बनाएको भनेर पत्तोपाउँदा कम्ति खुसी हुँदिनथेँ । दूधकुण्डमा पानी पनि दूधजस्तै सेतो हुन्छ भनेर आमाले उहिल्यै भन्नुहुन्थ्यो । दूधजस्तो पानीको कुरा आउँदा गाईभैँसीको कल्पना गर्थें । ओहो ! पछि त दूधकुण्डमात्र हैन, सगरमाथा पनि सोलुखुम्बूमै पर्छ भनेर पढ्दा कम्ति आनन्द आएको थिएन ।

पत्ताले, टोड्केबाट निकै माथि गएपछि सँगै हिँड्ने भरिया साथीले टिम्बुरबोटे भन्ने जङ्गल यता हो भनेर देखाए । ३१ सालको पुष १ गते त्यही जङ्गलमा छहरेका महेश कोइराला लगायत जुम्ल्याहा दाजुभाइ रामलक्ष्मण, पदमप्रकाश र श्याम गुरूङ जस्ता युवकहरू मारिएका थिए । जनतालाई जाकरूक र गोलबद्ध नबनाई बन्दुकले मात्र सशस्त्र क्रान्ति गर्ने भनेर प्रतिबन्धित नेपाली कांग्रेसले गरेको अपुरो तयारीका क्रममै ति युवा मारिएको खबरले मानिसमा एक खालको त्रास र आक्रोस दुबै व्याप्त थियो । टिम्बुरबोटेको जङ्गलमा लुकेर बसेका युवालाई चारैतिरबाट सरकारी सेनाले हमला गर्दा तेह्र जना मारिएको खबर मैले पनि सुनेको थिएँ । कम्युनिष्टले गरेको झापा आन्दोलनको सिको गरेर कांग्रेसले रणनीति नै बनाउन नसकेर ठूलो क्षति व्यहोर्दै आन्दोलनलाई उठ्नै नसक्ने बनाएको, त्यतिअघि राज्यले गरेको दमन अहिले नै भए जत्तिकै गरेर म त भित्रभित्रै दुखेँछु ।

देखिएसम्मका आँखै लोभ्याउने नागी, टाढाबाट हेर्दा नागीमा मस्तले चरिरहेका भेडा जस्ता देखिने सेता–काला घोडा, आलु रोपेका पाखा, जङ्गल र माथि देखिने कपाल दारी फुलेर सेताम्य भएका कुनै ध्यानी ऋषिमुनी जस्ता सेता चुचुरोलाई एकै झमटमा हेर्दा जीवनमै पहिलोपल्ट प्रकृतिले सुन्दर संयोजन गरेर बनाएको एक अनुपम कला देख्न पाइयो भनेर कम्ता खुसी लागेको होइन । मैले लगाएको ढाका टोपी मलाई सुहाए जस्तै देशले पनि शीरमा लगाएको सगरमाथाको टोपी औधि सुहाएको देखेँ ।

ओहो ! त्यति मनमोहक दृश्यले मलाई त चुम्बकले झैं यसरी ताने छ, साथीहरूले छोडेर गएको पनि थाहै पाएनछु । हतारहतार दगुर्दै जाँदा साथीहरू त डेढपाथी आलु उसिन्न लगाएर शेर्पा दाइको दलानमा बसेर मलाई कुरिरहेका रहेछन् । त्यस दिन शेर्पिनी भाउजुले दिनुभएको उसिनेका आलुको स्वाद वर्णन गर्ने नसकिने भएको छ । भाँडामा उसिनेर फेरि भुङ्ग्रोमा पोलेर ल्याइदिनुभएको आलुसँग सितन चाहिँ जिम्मु, लसुन र अदुवा मिसाएको नुन खोर्सानी थियो । अलि अलि डढेर बोक्रा टाँस्सिएका, खरानीले धुस्रैफुस्रै भएका आलु र मगमग बासनादार नुन खोर्सानीको सितनसँग चोबेर खाइनसक्दै अगि नै जिब्रो रसाइसक्थ्यो । त्यसदिन जति स्वादले फेरि आलु खाने मौका अहिलेसम्म जुरेको छैन ।

स्वादिलो आलु खाएर तल सोलू खोलालाई पहिलो बिसाउँनी बनाउने भनेर तिम्रो नाम लिँदै बाटा लाग्दा गाउँ पनि हामीलाई विदा गर्न वरसम्म आयो । सल्लेरी नदेखुन्जेल पाइला सार्नै नमानेका पाइताला त ए होई तिमीलाई देखेपछि फुर्लुङ् जस्तै हलुङ्गो पो भए, र थाहै नपाइ सोलु खोलाको पुलमा पुगेर बिसाए । कति मज्जा ! सल्लेरीको फेदीमा पुगेपछि त तिम्रा आँगनमैं पुगेजस्तो भयो ।

प्रिय सल्लेरी, अघिल्लै दिनको कुरा अलिकति भन्छु है ! उसैदिन तराईको भावरबाट हिमाली जिल्ला सदरमुकाम ताकेको मलाई शुरूशुरूमा त निकै कठिन भएको थियो हिँड्न पनि । तर, जतिजति अगाडि बढ्थेँ, उतिउति रमाइला फाँटहरूले मलाई चुम्बकलेझैँ तान्दैतान्दै लान्थे । पहिलो दिनको बास बसेको रमणीय ठाउँ पत्तालेमा एउटा रमाइलो घटना भयो । साँझ खाना खाएपछि मेरा आँखा अँगेनोमा तात्दै गरेकोे कुँडेको दूधमा पो पुग्यो । दूध सम्झेपछि अरूबेला पनि बरू बाच्छो हुन पाए हुने भनेर मनमनै कल्पना गर्थेँ । दिनभरिको थकाइ, धेरै बर्षपछि हिँड्दा हिँड्दा गलेको शरीर र खुट्टाको दुखाइ सम्झेर घरमा दूध पिएझैँ मुखभरि स्वाद लिएर हेरेँ । लेकमा गाईको दूध खाने इच्छा चुलिएपछि मुखै फोरेर किन्न माँगेँ । अँगेनाछेउमा बसेर शेर्पिनी साउनीले दिनुभएको दूधको गिलास हातमा लिएँ र पहिलो सुरूप पिएँ, मुखमा परेको दूध निलूँ कि उगेलूँ पो भएँ । गुलियो हुनुपर्ने दूध तीतो भएर खानै सकिनँ । मुखमा दूध लिएर, कतै शेर्पिनी साहुनीले कुनै तीतो पदार्थ मिसाएर दिएकी त होइनन् भनेर पनि शङ्का गरेँ । सोधिहेरौँ भनेर हातमा दूधको गिलास लिएर साहुलाई गुहारेँ । उहाँले खुलस्त पारिदिनुभो– ‘यतिबेला गाईहरू नागीका माथिमाथिसम्म पुगेर चिराइतो खान्छन्, त्यसैले दूध तीतो भएको हो, खानुस् यसले फाइदा गर्छ ।’

तिमीलाई आजमात्र होइन, पहिलेदेखि नै माया गर्थें । साँच्चै भनेको, मलाई हिमालका खास छोराछोरीजस्तै लाग्छन्, सुङदरे शेर्पा र पासाङ लाह्मु । पहिलोपल्ट सगरमाथाको जुरोमा पाँच पटक पुग्ने सुङ्दरे मलाई हिमाल जत्तिकै सुन्दर लाग्छ । भरिया भएर पाउने ज्याला बाहेक उसको स्वार्थ नगाँसिएको आरोहण, हल्लाभन्दा पर चुपचापको पाँच–पाँच पल्टको विश्व कीर्तिमान र विदेशीहरूले विज्ञापन बन्न गरेको आग्रहलाई शालीन भएर गरेको अस्वीकारले मलाई गलाएको थियो उसको स्वाभिान र स्वाबलम्बनसँग । हो, म त ऊप्रति यसै नतमस्तक भएँ र गहिरो भावगङ्गामा पुगेर भनिदिएँ– पृथ्वीभन्दा पाँच मान्छे अग्लो नेपाली ! खबर छाप– सगरमाथाभन्दा पाँच मान्छे अग्लो नेपालीको नाम सुङ्दुरे शेर्पा !

मैले कवितामा सुङ्दरेलाई आफ्नो नायक बनाउँदै गर्दा भित्रैदेखि सगरमाथाझैं खुसीले मुस्कुराएँ, खुसी र आनन्दको गहिरो स्वास लिएँ । तर दुर्भाग्य, नियतिले कवितामा मेरो नायक बनेको सुङ्दरेलाई कविता लेखेकै बर्ष सधैंसधैंका लागि अलग्याइदियो र फोटोमा सीमित बनाइदियो ।

अँ, निकैपछि जब पासाङले सगरमाथाको शिरमा पाइताला राखिन्, मैले उनलाई पनि महान् नेपाली महिला भनेँ । सगरमाथा आरोहणको अनुभूति पासाङले कसरी गर्लिन्, त्यो पृथ्वीकै अग्लो चुचुरोबाट चारैतिर हेर्दा पृथ्वी कस्तो देखिन् र उकालो चढ्न सजिलो हुँदो रहेछ कि ओरालो झर्न सजिलो हुँदो रहेछ भन्ने कुनै पत्रकारले गर्ने सम्भावित प्रश्नको उत्तर कसरी देलिन् भन्ने तीब्र उत्कण्ठा बोकेर म त आउने दिन गन्दै थिएँ, तर अचम्म ! उनी तल कहिल्यै झरिनन् । शिखरमा चढिरहनु र कहिल्यै तल नझर्नु जत्तिको गौरव के हुन्थ्यो, त्यही भइन् र राष्ट्रिय विभूति भइन् । मैले पासाङलाई पनि किन छोड्थेँ र मेरा कवितामा, एक युगको एक नायक बनाएरै छाडेँ ।

अहिले पनि सम्झन्छु, ओहो ! म पुगेको समय तिमी कति सुन्दर रहेछौ सल्लेरी ? अपर सगरमाथा नामको परियोजनाले मोटर गुड्ने सडक बनाइरहेको रहेछ । बेहुलाको प्रतिक्षा गर्दै कोठामा बसेर अनेक मनोविनोदमा रमाइरहेकी बेहुलीझैँ मोटर आगमनको प्रतिक्षा गरिहेको हिमाली सडकलाई हेरेँ, साँच्चै सडक नबोलेरै पनि बोलिरहेझैँ लाग्यो ।

विकास पर्खेर बसेका गाउँहरू, मोटर कुरिहेका सडकहरू देखेर म त आफैँ सोलुखुम्बू भैदिएँछु, आफैँ सल्लेरी भैदिएँछु । नजिकै पुगेर जब तिमीलाई हेरेँ, तिमी त दायाँ हातमा टाउको अडेस लगाएर हिउँचुली मुन्तिरको फाँटमा हिमाली गरगहनामा सजिएर घाम तापिरहेकी कुनै शेर्पिनी युवती जस्तै लाग्यौ । ‘सल्लेरी’ मैले सम्झिइरहने एउटा सुन्दर गाउँ भएको छ, मेरो मानसपटमा नमेटिने एउटा ठाउँ भएको छ ।

कतै सुनेको थिएँ, राजनीति र मौसम परिवर्तन भइरहन्छन्, यी दुबै उस्तैउस्तै हुन्, यिनीहरूको विश्वास नगर्नू । तर मलाई सल्लेरीको मौसमलाई भद्दा राजनीतिसँग तुलना गरेको पटक्कै मन परेन । मनमनै भन्थेँ, सल्लेरीको मौसमसँग राजनीति नजोडेकै राम्रो । मौसम परिवर्तन कृषिकर्ममा लागेका किसानलाई फाइदाजनक हुन्छ तर राजनीति परिवर्तनले देश विकासको सपना देखिरहेको जमातको हुर्मत लिइरहेको हुन्छ । त्यतिबेला पनि एक बर्षमा दुइटा सरकार बनेका थिए र देशले लाजमर्दाे फोहोरी खेल हेरिरहेको थियो । मौसम परिवर्तनले सबैलाई आनन्द दिइरहेको थियो, राजनीतिले पीडा ।

सल्लेरीको मौसम नै अचम्मको थियो, पाइला पाइलामा परिवर्तन भइसकेको पत्तै हुँदैनथ्यो । हो, अचम्मै लाग्थ्यो, शरद ऋुतु भएपनि छिन्छिन्मा पानी पथ्र्याे, कुइरो लाग्थ्यो र घाम लाग्थ्यो । कठै ! उसबेला त सल्लेरी सधैँ हाँसिरहेको हुन्थ्यो । हिउँदमा हामी कार्यालय जाँदा देख्थ्यौँ, पोलिथिनका पाइपबाट साँझ चुहेको पानीका छिर्का रातभरी जमेर बरफ बनेका हुन्थे । पानी जमेर बनेका फरक–फरक ठाउँका बरफ पानीचित्र जस्तै देखिन्थे ।

त्यस्ता आकारलाई सकभर नभत्काई त्यसको सौन्दर्यपान गरूँजस्तो लाग्थ्यो र साथीहरूलाई छोडेर एक टक तिनै चित्रमा आँखा तेस्र्याएर उभिन्थेँ, निकैबेर हेरिरहन्थेँ । तर के गर्नु घाम आह्रिस गथ्र्याे मेरो, कुनै दिन त आइपुग्नुअघि नै पानीचित्र भत्काइदिन्थ्यो र मलाई जिल्ल पाथ्र्याे । मेरो मनोरञ्जनलाई थप हौसला दिँदै साथीहरू भन्थेँ कुनै–कुनै हिउँदमा त सोलू खोला पनि बाहिरी तह जमेर चुपचाप भित्रभित्रै मात्र दगुर्छ ।

अरू दिन सुसाइरहने खोला चुपचाप भित्रभित्रै दगुर्दाको कल्पना गर्थेँ र नजिकै पुगेर रातको सन्नाटा अनुभव गर्न नसक्नुको असहजतालाई लिएर शायद खोला पनि मानिसझैँ राती निदाएको हुनुपर्छ भनेर मन बुझाउँथें ।

साँच्चै अचम्मको लाग्छौ सल्लेरी ! साताको शनिबार हाट जाँदा, जेजे देख्थेँ म त छक्कै पर्थेँ । बुढापाकाहरू केटाकेटीलाई सम्झाउने नाममा भन्थे– भाग्य छ भन्दैमा डोकामा दूध दुहेर अडिदैन बाबै ! ढुङ्ग्रोमै दुहुनुपर्छ । तर, सल्लेरीमा आइपुग्दा दूध त हैन, घिउ चैँ डोकामै अडिएको देखेँ । थुन्सेमा वरिपरि पात हालेर त्यसमाथि चौरीको नौनीघिउको चाको खच्चडमा बोकाएर हाट ल्याउँदा रहेछन् । पग्लिने त कुरै थिएन तीन खाप लुगा पनि छेडेर भित्रैसम्म पुग्ने त्यो चीसोमा । बरू तराइमा बेच्न ठीक्क पारेका सारो न सारो सख्खर फुटाएझैँ फुटाउनु पर्दाेरहेछ छिनोले । सल्लेरीको हाटले कस्तो माया लगायो–लगायो, हाटबजारमा देखिने स–साना नानीबाबुहरू पनि पासाङ र सुङ्दरे जस्तै लागे । तिनीहरू पनि सगरमाथाभन्दा माथि पुगेर विश्वकै सबभन्दा अग्लो हुन जन्मिए जस्तै लागे ।

मैले पनि अरूले झैँ तिनीहरूलाई हिउँमानव सम्बोधन गरूँ कि भनेर एकपल्ट सोचेँ, तर हिमालमा जन्मिएर बसे पनि तिनीहरूको मन हिउँभन्दा कता हो कता तातो थियो । हिमालका राता–ताता मानिसलाई हिउँमानव भनेर चीसो सम्बोधन गर्ने आँटै पो आएन मलाई ।

सल्लेरी ! सम्झनामा प्रकृतिको सुन्दर कला, ईन्द्रेणीका सातै रङ बोकेर भोटे सेलोमा नाँचिरहेका शेर्पिनीहरूले छपक्कै ढाकेको सोलुबजार आज पनि झलझली देख्छु । अँगेनाको वरिपरि बसेर एक पावा जाने तान्चिनको कपमा नुनिलो चिया सुरूप–सुरूप् पारिरहेको अहिलेजस्तो लाग्ने सल्लेरीको चिया पसलको समय सम्झन्छु । ‘ऊँ मणीपद्मे हूँ’का मन्त्रहरू जपेर माने घुमाउँदै मुस्कुराइरहेका शेर्पा दाइहरूको उज्यालो अनुहार बागवानीमा फुलिरहेको, फलिरहेको देख्छु । वारीपारीका हरिया पाखा र नागीहरूमा देखिने जङ्गल, जङ्गल नभएर च्याल्सामा बनेका गलैँचा जस्तै देख्छु । साँच्चै चैत्य–गुम्बामा बजिरहेका धिमा बाजाको शब्द उनेर शान्ति–शान्ति जपिरहेको मधुर स्वर, लहरै बलेका बत्तीहरूको उज्यालोमा समाहित भइरहेको ‘बुद्धम् शरणम् गच्छामी धम्मम् शरणम् गच्छामी’ मन्त्र गाढा कलेजी बस्त्रमा माला जपेर बसिरहेका लामाहरूको समग्र रूप सल्लेरी हौ कि भनेर पो सम्झिइरहन्छु ।

प्रिय सल्लेरी, यतिबेला महाकवि कालीदासको मेघदुत पढ्दैछु । सम्झ– मेघदूतभित्रको कुवेरपुरको उद्यान पक्कै पनि सल्लेरीबाट माथि देखिने फाप्लु हो । कुवेरपुरको उद्यानरक्षककी प्रेमिका त्यही उद्यानमा हराइरहेकी डोल्मा हुन् ।

पत्नीको प्रेमलाई चटक्कै बिर्सेर कर्तव्यको मतलब नै नगरी यक्षकुमारीसँगको प्रेम–वियोगको रनाहामा वर्षाकालको बादललाई दूत बनाएर खबर पठाउने उद्यानरक्षक प्रेमी मै त हुँ नि ! - अनलाइनखबरवाट

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved