• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

जनताकाे सेवामा रमाउने बस्नेत, जसले सरकारी जागिर खान चाहेनन्

  • जेठ २०, २०७७
  • सोलुखुम्बु समाचार
alt

हेमन्त राई - यदि बुबाकाे चाहना अनुसार उनले आफ्नाे भविष्य चुनेका भए आज उनी कि त नेपाली सेनाबाट अवकाश लिएका हुन्थे । कि त कुनै सरकारी जागिर खाइरहेका हुन्थे वा अवकाशप्राप्त जीवन बिताइरहेका हुन्थे । तर जनताकाे सेवा गर्ने आफ्नाे भावनाका कारण आज उनकाे परिचय नै अलग बनेकाे छ ।

सोलुखुम्बूको थुलुङ दूधकाेसी गाउँपालिका २ काँगेलमा जन्मिएका उनी अर्थात् उत्तमकुमार बस्नेत, जिल्लाको प्रदेश सभा (क) का सांसद हुन् । नेकपाको प्रदेश कमिटीको समेत जिम्मेवारी पाएका सांसद बस्नेतले प्रदेश १ को पर्यटन विभाग इन्चार्जको समेत जिम्मेवारी पाएका छन् । 

 

सामाजिक कार्यमा रुचि भएकी आमाबाट प्रेरित भएकाे उनी बताउँछन् । आमाबाबुले नेपाली सेना बनाउने योजना बनाए पनि राजनीति गरेर जनताको सेवा गर्ने भावनाका साथ आफू राजनीतिमा लागेको उनी बताउँछन् ।

उनी भन्छन्, 'मेरो बुबा सरकारी जागिरे हुनुहुन्थ्याे । मलाई पनि कुनै सरकारी जागिर खाओस भन्ने बुबाको चाहना थियो । तर म राजनीतिकर्मी भएँ ।’

बुबा सरकारी जागिरे भएका कारण बुबाको सरुवा जुन ठाउँमा हुन्छ, त्यही ठाउँमा पुगेर अध्ययनलाई निरन्तरता दिनुपर्ने बाध्यता भए पनि अध्ययनलाई भने सधैँ प्राथमिकतामा राखेर अगाडि बढेको उनी सुनाउँछन् । चञ्चले र जिज्ञासु स्वभाव भएका कारण विद्यालयमा आयोजित हरेक कार्यक्रममा अग्रसर हुँदै नतिजा आफ्नो हातमा पार्ने गर्थे बस्नेत ।

 

 

विद्यार्थी जीवनमा विभिन्न बाल क्लबको अध्यक्ष हुँदै २०३४ सालमा योङ स्टार क्लब सोलुखुम्बूको संस्थापक अध्यक्ष समेत बने । त्यसपछि आफूमा नेतृत्व गर्ने विकासमा वृद्धिसँगै आत्मबल बढेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘कुनै पनि संघसस्थाको अध्यक्ष वा अग्रभागमा रहँदैमा अहम् बढाउने होइन, आफ्नो पदसगैँ जिम्मेवारीलाई पनि इमान्दारीका साथ वहन गर्न सकेमा मात्र आफ्नो पदको इज्जत रहन्छ ।’

विद्यार्थी जीवनसगैँ राजनीति सुरु गरेका बस्नेतले २०३६ सालबाट अझ अग्रपंक्तिमा आएर राजनीति सुरु गरे । उनी बहुदलकाे पक्षमा लागेकै कारण ओखलढुंगाबाट पक्राउ समेत परे ।

काठमाडौँको पुलचोक कलेजमा इन्जिनियरीङ अध्ययन गर्दै पनि उनले राजनीतिलाई भने थाँती राखेनन् । २०४८ सालकाे चुनावमा संघीय जनमोर्चाको उम्मेदवारसमेत बने । केही समयपछि संघसंस्थाको कामको सिलसिलामा उनी सन १९८५ सालमा भुटान गए । त्यसपश्चात विभिन्न कामको सिलसिलामा २०४९ सालमा युरोप गए । नेपाल आउने जाने क्रम भइरहेको थियो । पछि २०६२ मा युरोपबाट फर्केपछि नेपालमै आफ्नो काममा व्यस्त भए ।

नेपाल फर्केर आएपछि पनि लामो समय हाइड्रोपावरमा काम गरे । इन्जिनियरिङ विभाग र सहकारी विभागको केन्द्रीय सदस्य लगायतको पदमा रहेर अनुभव बटुल्न सफल बस्नेत २०७४ सालमा प्रदेशबाट टिकट पाएपछि चुनाव जितेर अहिले प्रदेश सांसद भएर जनताको सेवामा लागिरहेको बताउँछन् ।

कुनै पनि पहलकदमीको चर्चाभन्दा पनि विशेष योगदानमा विश्वास गर्ने सांसद बस्नेत आजीवन राजनीतिबाटै जनसेवामा रहिरहने बताउँछन् । उनी भन्छन्, 'मलाई कामको चर्चा परिचर्चा मन पर्दैन । म सधैँ कर्ममा विश्वास राख्छु । मैले गरेको सेवाको प्रत्यक्ष लाभ जनताले लिएर यदि जनता खुसी छन् भने त्यो नै मैले गरेको राजनीतिको सबैभन्दा ठूलो उपलब्धि हो ।’

सरल स्वभावकै कारण उनी प्रत्यक्ष जनतासँग जोडिएर अन्तर्क्रिया गर्न रुचाउँछन् । जनताको गुनासो र विचारलाई आफ्नो समय दिएर त्यसको निष्कर्षमा पुग्ने स्वभावकै कारण आज उनी धेरै जनताको आँखाको नानी बन्न सफल भएका छन् । 

इमान्दार अनि सरल स्वभावको व्यक्ति भएमा सबैको साथ सजिलै पाइन्छ भन्ने विश्वास राख्ने सांसद बस्नेतले जीवनमा आएका उत्तरचढाव केही समयका लागि मात्र हो भनेर बुझेको खण्डमा खुसी रहन सकिने बताउँछन् । साथै आफूले गरेको कार्यमा परिवारको ठूलो साथ र सहयोग रहने पनि उनी बताउँछन् ।

लामो समय समाजसेवामा बिताएका कारण राजनीतिबाट टाढा रहन नसक्ने उनको भनाइ छ । उनी भन्छन्, 'हुन त राजनीति नगरे पनि समाज सेवा गर्न सकिन्छ । तर सानै उमेरदेखि राजनीति गर्दै आएका कारण म राजनीतिदेखि टाढा रहन सक्दिन ।' जनतासँग रहेर जनता र समाजको पक्षमा रहेर काम गर्ने उनको भावी योजना छ ।

सांसद भइसकेपछि विकासलाई ध्यानमा राखेर तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाएर अघि बढिरहेको बताउँछन् बस्नेत । यस्तै शिक्षा, स्वास्थ्य ,सडक, खानेपानी, पर्यटन, कृषि, पुलको निर्माणमा विशेष पहल भइरहेको उनको भनाइ छ ।

 

 

उनी भन्छन्, 'विशेष त देशलाई चाहिने नै दिगो विकास हो । त्यसकारण तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाएर अघि बढिरहेको छु ।'

भनाइ छ नि- भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन । त्यसैले कुनै पनि व्यक्ति सफल बन्नका लागि कडा मेहनत र निरन्तरता आवश्यक पर्छ भन्ने कुरा हामीले सांसद बस्नेतको संघर्षबाट पनि सिक्न सकिन्छ ।

healthsandesh बाट

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved