• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुले ६ महिनामा २२ करोड आम्दानी गुमायो, ५० करोड ब्याज भार थपियो

  • भदौ २८, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । प्रसारण लाइन समस्या झेलिरहेको सोलु खोला जलविद्युत आयोजनाले ६ महिनामा २२ करोड रुपैयाँ आम्दानी गुमाएको छ । साढे २३ मेगावाटको आयोजनाको १७ मेगावाट विद्युत खेर जाँदा यति धेरै आम्दानी गुमेको हो ।

१३२ केभी सोलु कोरिडोर प्रसारण लाइन तयार नभएपछि चैतदेखि विद्युत उत्पादन सुरु गरेको आयोजनाको बढीमा साढे ६ मेगावाट विद्युत वैकल्पिकरूपमा ३३ केभी ओखलढुंगा–बुईंपा–सल्लेरी लाइनमा जोडियो । सुरुमा साढे ६ मेगावाट हाराहारीको उत्पादन जोडिए पनि ३३ केभी लाइनसमेत समस्याग्रस्त हुँदा भदौमा साढे ४ मेगावाटमा झरेको प्रवर्द्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए । उत्पादन घटाउनु पर्दा आयोजनाको आम्दानीमा असर पुगेको छ ।

‘प्रसारण लाइन समस्याले करोडौंको बिजुली खोलामा बगिरहेकोबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयदेखि नेपाल विद्युत प्राधिकरण सबै जानकारी छन्,’ उनले भने, ‘खै अब त कहाँ गएर कसलाई पो भन्नु ।’ ३३ केभी लाइनले लोड नलिँदा दैनिक १५ देखि २० पटकसम्म लाइन ट्रिप हुने गरेको छ ।

ट्रिपिङ समस्या समाधानका लागि ३३ केभी लाइनको मर्मत गर्न अनुरोध गरे पनि सुनुवाई नभएको उनले गुनासो गरे । लाइन ट्रिपिङ समस्याकै कारण बैशाखमा करिब ५ दिन सोलुको उत्पादन नै बन्द भएको थियो ।

३३ केभी लाइनमा ७.५ मेगावाटको मोलुङ खोला पनि जोडिएकाले उक्त आयोजनाको उत्पादनका आधारमा सोलुको उत्पादन निर्भर हुनुपर्ने बाध्यता छ । मोलुङ पूर्ण क्षमतामा चल्दा सोलुको उत्पादन स्वतः घट्छ ।

उत्पादन क्षमता घट–बढ हुँदा उपकरणहरूमा समस्या आउने गरेको उनले बताए । सोलुले भोगिरहेको समस्या निर्माणाधीन प्रसारण लाइन सञ्चालनमा नआउन्जेल समाधान नहुने पनि उनले बताए ।

आयोजना पूर्ण क्षमतामा सञ्चालन भई १३२ केभी प्रसारण लाइनमा जोडिने हो भने विद्युत बिक्रीबाट वार्षिक ७३ करोड रुपैयाँ आम्दानी हुन्छ । तर, मध्य बर्खामा समेत कम क्षमतामा चलाउनु पर्दा ६ महिनामा करिब ८ करोड रुपैयाँ मात्रै आम्दानी भएको छ ।

चैतसम्म पनि प्रसारण लाइन तयार नहुने हाे भने आयोजनाकाे करिब ५५ कराेड रुपैयाँ आम्दानी गुम्ने उनले दाबी गरे । आयोजनाको आम्दानी प्रभावित हुँदा अहिलेसम्ममा बैंकको ५० करोड रुपैयाँ ब्याजको भार थपिएको राजभण्डारीले बताए ।

‘सुपर सिक्स’ अन्तर्गतको सोलुको विद्युत प्रवाह हुने प्रसारण लाइन समयमा सम्पन्न नगरे कूल आम्दानीको ४५ प्रतिशत हर्जना तिर्नुपर्ने प्रावधान विद्युत खरिद सम्झौता (पिपिए) मा छ ।

प्रवर्द्धकले आयोजना पहिले सम्पन्न गरिसकेकाले विद्युत प्राधिकरणले हर्जना तिर्नुपर्ने हो । तर, प्राधिकरणले कोरोना (कोभिड–१९) महामारीको कारण देखाउँदै प्रवर्द्धक कम्पनीलाई ४५ प्रतिशत हर्जना नतिर्ने प्रष्ट पारिसकेकाे राजभण्डारीले बताए ।

‘पिपिएमा भएको प्रावधानअनुसार हामीले ४५ प्रतिशत हर्जना पाउनु पर्ने हो । प्राधिकरणले कोरोना महामारीको कारण देखाएर हर्जना नदिने भनिसकेकाले हाम्रो आर्थिक नोक्सानी थप बढेको छ’ उनले भने ।

यता सोलु कोरिडोरकाे म्याद चौंथो थपिएको छ । विद्युत प्राधिकरणले पुस १५ सम्मका लागि प्रसारण लाइन निर्माणको म्याद थप गरेको हो । तेस्राे पटक थपिएकाे म्यादमा प्रसारण लाइन तयार नभएपछि म्याद थपिएकाे आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

प्रसारण लाइनकाे निर्माण कार्य भने चैतदेखि ठप्प छ । सरकारले पहिलाे पटक गरेकाे बन्दाबन्दी (लकडाउन) का बेला घर गएका कामदार फर्किन नसक्दा निर्माण सुचारु हुन नसकेकाे गाैतमले दाबी गरे ।

यसबिचमा भारतीय कामदार ल्याउने प्रयास भए पनि १६ जना काेराेना संक्रमित भेटिएपछि सबै भारत फर्किएका थिए । अहिले देशका विभिन्न स्थानबाट कामदार लगेर निर्माण सुचारु गर्ने प्रयास भइरहेकाे उनले बताए ।

‘म्याद त थपियो । आयोजना स्थलमा कामदार छैनन् । भारतबाट आएका कामदार संक्रमित भेटिएपछि उनीहरू घर गए । अहिले बर्दियाबाट पिसिआर परीक्षण गराएर कामदार ल्याएको छु । अब काम सुचारु गर्ने तयारी गदैछु’ उनले भने ।

प्रसारण लाइनको रुट पर्ने उदयपुरको मरुवामा स्थानीय विवादले १० वटा टावरको निर्माण सुरु हुन सकेको छैन । स्थानीयले ऐलानी जग्गाको मुआब्जा खोजेपछि लामो समयदेखि त्यहाँ विवाद छ । सोलुखुम्बु र ओलढुंगामा पनि ५ ठाउँमा विवाद छ ।

मरुवामा देखिएको स्थानीय विवाद समाधान नभए थपिएको समयमा पनि प्रसारण लाइनको काम सम्पन्न गर्न नसकिने उनले बताए । चाैंथाे पटक थपेकाे समयभित्र प्रसारण लाइन नसकिएमा याे काेरिडाेरमा निर्माणाधीन अन्य आयोजनाकाे विद्युत खेर जाने अवस्था आउने छ ।

सोलु कोरिडोरमा जोडिने गरी सोलु बेसिनमा ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, १८ मेगावाटको माथिल्लो सोलुलगायत आयोजना निर्माणाधीन छन् । यी मध्ये तल्लो सोलु अन्तिम चरणमा पुगेको छ । - ऊर्जा खबर

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved