• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

केरुङमा रोकिए ११ लाख सिरिन्ज

  • आश्विन ६, २०७७
  • कान्तिपुर दैनिक
alt

काठमाडौं । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएका छन् ।

 

रसुवागढीमा कोभिड–१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो । स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो ।

विभागले भन्सारलाई लेखेको पत्रमा भनिएको छ, ‘बालबालिकाको खोपलाई चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम रहेको छ ।’ सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी विभागले स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ । भन्सारले भने आफ्नो पहलबाट सामान ल्याउन नसक्ने जानकारी माथिल्लो निकायमा दिएको छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक रमेश खरेलले खोपमा प्रयोग हुने सिरिन्ज संवेदनशील भएकाले स्टक नसकिँदै छिटो ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘स्टक कति छ त भन्न सक्दिनँ तर सकिन दिनुभएन ।’

स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक गौतमका अनुसार बीसीजी खोप जन्मनेबित्तिकै लगाउनुपर्छ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोगविरुद्ध दिइने खोप हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले केरुङ नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए । सिरिन्ज खरिदको टेन्डर सकारेका जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सेयर होल्डर वीरेन्द्र थापाका अनुसार विभागले ताकेता गरेपछि तोकिएको भन्दा बढी ढुवानी भाडा तिरेर सामान ल्याइँदै थियो ।

‘उताबाट सामान हिँडाउँदा केरुङ नाका बन्द थिएन,’ उनले भने, ‘ल्याउँदाल्याउँदै बाटैमा अलपत्र भयो ।’ सामान अड्किएपछि सहजीकरणका लागि स्वास्थ्य विभाग र मन्त्रालयलाई हारगुहार गरेको उनले बताए । जंगलको बीचमा अलपत्र कन्टेनरमा ०.०५ एमएल साइजका ११ लाख थान सिरिन्ज छन् । इन्टरप्राइजेजले विभिन्न प्रकृतिका खोपमा प्रयोग हुने सिरिन्ज १ करोड ४५ लाख रुपैयाँमा खरिद गरेर आपूर्ति गर्न गत अप्रिल ९ मा स्वास्थ्य विभागसँग सम्झौता गरेको थियो । सिरिन्ज सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याउन लागिएको हो । तातोपानी नाका सञ्चालनमा आएको भए त्यताबाट सिरिन्ज भित्र्याउन सकिन्थ्यो । यसो गर्दा ढुवानी खर्च भने बढी लाग्छ ।

नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री पनि बाटैमा अलपत्र छन् । ‘व्यापारिक वस्तु मात्र नभई कोभिड संक्रमणबाट बच्न प्रयोग स्वास्थ्य सामग्रीको आयात पनि रोकिएको छ,’ रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले भने । बारम्बारको नाका बन्द र खुलेका बेला पनि सीमितलाई मात्र पार गर्न दिइदा तीन महिनादेखि स्वास्थ्य सामग्री चिनियाँ गोदाममा छन् । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले नाका बन्द भएपछि पीसीआर मेसिन महँगो ढुवानी खर्चमा चीनबाट जहाजमार्फत ल्याएको बताए । ‘कोभिड संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने धेरै सामान नेपाल भित्र्याउन सकिएको छैन, अरू स्वास्थ्य सामग्री पनि अड्किएका छन्,’ उनले भने । ऋषिराम पौड्यालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved