• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

स्वास्थ्यका दृष्टिकोणले लाभदायक - कोदो

  • कार्तिक १६, २०७७
  • बबि बस्नेत
alt

कोदो नेपालको चौथो मुख्य बाली हो भने पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बाली हो । यसलाई गरिबको खाना पनि भनिन्छ किनकी यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा पनि गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा खेती गर्न सकिन्छ । कोदोबाट ढिडो रोटी, सातु, लिटो, खोले, पुवालगायत अन्य परिकार बनाएर खान पनि सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले त झन यो ज्यादै महत्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिबाट हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीहरूको भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ । तर, हालका दिनहरूमा यससम्बन्धी जनचेतना अभिवृद्धि, कोदोभन्दा अरू खाद्यान्न महङ्गो तथा स्वास्थ्यका दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगीता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो मधुमेह बिरामीका लागि पनि उपयूक्त अन्न बाली हो । पोषणतत्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन चिल्लो पदार्थ, थाइमिन तथा रेशादार बस्तु पाइन्छ ।

कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढि क्याल्सियम पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अङ्ग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको ‘स्मार्ट खाना’समेत भनिएको छ । सामान्य स्वस्थ व्यक्ति मात्र नभइ बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाईसमेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टी भइसकेको छ । केटाकेटी, बुढाबुढी र सबैका लागि कोदोको रोटी र ढिडो सजिलै पच्ने भएकाले यो स्वास्थ्यवद्र्धक पनि छ । धार्मिक हिसाबले हेर्ने हो भने नेवार, गुरूङ, तामाङलगायतका जनजातिहरूको पूजाआजा र चाडपर्वमा यसको प्रयोग हुन अनिवार्य छ । स्थानीयरूपमा तयार गरिएका शुद्ध जाँड तथा रक्सी धेरै नेपाली तथा विदेशीहरूले स्वादिलो मानेर पिउने गर्छन् । बजारमा पाइने मदिराभन्दा सस्तो र स्वादिलो हुने भएकाले पनि होला मानिसहरू कोदोको रक्सी भनेपछि हुरूक्कै हुने गर्दछन् ।

कतिपयले त साथीभाइ तथा इष्टमित्रलाई कोशेलीकारूपमा दिने गरेको पनि पाइन्छ । आजभोलि त काठमाडौँका तारे होटलदेखि राजमार्गका रेष्टुराँ तथा रिसोर्ट र हिमाली क्षेत्रका होमस्टेमा दरिलो स्वागतकारूपमा कोदोका विभिन्न परिकारकासाथै जाँड तथा रक्सीको प्रयोग हुन थालेको छ । यसबाट बियर पनि तयार हुन्छ । कोदोको नल पशुका लागि राम्रो घाँस पनि हो । यो हरियो तथा सुकाएको दुबैरूपमा प्रयोग गर्न सकिन्छ ।
कोदो तराइदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ । पहिले नहुनेले कोदो खाने गरेपनि आजकल हुनेले पनि खोजीखोजी खान थालेको अवस्था छ । नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतिकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ । नेपालीको खाने चलनमा मुख्य भात नै भएको र यसैमा अत्यधिक निर्भर रहने भएकाले नसर्ने रोगको बृद्धिमासमेत यसले सघाइरहेको छ ।

अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्नसक्छ । बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइ वटा कोदोको रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागिसमेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोको पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ । कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, केक, शिशुका लागि खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ । यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, ट्यानिन, फाइटोस्टेरोल्सलगायतका फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टलेसमेत परिपूर्ण हुन्छ । मानिसलाई ज्ञात भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्वपूर्ण भएपनि सरकार र राज्यले खासै महत्व दिएको पाइँदैन् ।

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आइआइएमआर), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुनुकासाथै मधुमेहबाट जोगाएर पाचन प्रणालीमा सुधार ल्याउँछ र क्यान्सरको जोखिम कम गर्छ । यस्तै शरीरको शुद्घीकरण गर्छ र विषाक्तता हटाउँछ । श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेषरूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ । यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुकासाथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ ।

मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ । यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन इ, फेनोलिक यौगिक र ट्यानिनले मधुमेहको खतरालाई कम गर्छ । किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासी वृद्घिलाई मन्द पार्छ । पाचनसम्बन्धी विकारमासमेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामासमेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ । यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामासमेत कमी ल्याउँछ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाइसमेत कम गर्न सक्छ । यो फेनोलिक एसिड, ट्यानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो । हालै गरिएको एक अध्ययनबाट कोदोको रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गरेको पाइएको छ । दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन् ।

कोदो खाँदा हुने फाइदा
(क) मुटु रोग लाग्न दिँदैन्
(ख) एन्टिअक्सिडेन्ट गुण हुन्छ
(ग) हाड बलियो बनाउँछ
(घ) बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ
(ङ) नराम्रो कोलेस्ट्रोल घटाउँछ
(च) शरीरको विषाक्तता बाहिर निकाल्छ
(छ) पाचनतन्त्रलाई तन्दुरूस्त राख्छ
(ज) रगतको कमी हुन दिँदैन्
(झ) कब्जियत हुन पाउँदैन्
(ञ) टाइप २ मधुमेहबाट जोगाउँछ
(ट) स्तन क्यान्सर हुन दिँदैन्
(ठ) शारीरिक तौल नियन्त्रित राख्छ
(ड) रक्तचाप घटाउन प्रभावकारी हुन्छ
(ढ) मृगौला र कलेजोको रोग लाग्न दिँदैन्
(ण) रोगप्रतिरोधी क्षमता बढाउँछ
(त) फलफूल र सागसब्जीजत्तिकै पोषक हुन्छ
(थ) ऊर्जाको राम्रो स्रोत मानिन्छ
(द) पित्तथैलीमा पत्थरी हुन दिँदैन्
(ध) मीठो निद्रामा सघाउँछ
(न) छाला चम्किलो बनाइराख्छ
(प) घाउ छिटो भरिन सघाउँछ
(फ) आमाको दूध बढाउँछ
(ब) मोटाहरूका लागि उपयोगी हुन्छ
(भ) कुपोषण हुन दिँदैन्
(म) सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ

वर्तमान अवस्था
नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको छ । उक्त क्षेत्रमध्ये हिमाली क्षेत्र ५१ हजार १८७ वर्ग किलोमिटर (३५ दशमलव ०५), पहाडी क्षेत्र ६१ हजार ३४५ वर्ग किलोमिटर (४२ दशमलव ०५) र तराई क्षेत्र ३४ हजार १९ वर्ग किलोमिटर (२३ दशमलव ०५) रहेको छ । भू–उपयोगका दृष्टिकोणले जम्मा खेती गरिएको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर र खेती नगरिएको खेतीयोग्य जमिन १० लाख ३० हजार हेक्टर रहेको छ । कूल जनसङ्ख्यामध्ये कृषिमा संलग्न जनसङ्ख्या ६५ दशमलव ६५ प्रतिशत रहेको छ । माथिको तथ्याङ्कलाई हेर्ने हो भने कृषिमा दुइ तिहाई जनसङ्ख्या आश्रित भएको देखिएपनि खाद्यान्नमा नेपाल परनिर्भर नै छ ।

आर्थिकवर्ष २०७४/०७५ लाइ हेर्ने हो भने २ लाख ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको छ भने ३ लाख १३ हजार ९८७ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसको उत्पादकत्व १ दशमलव १९ रहेको पाइन्छ । कोदो खेती गर्दा धेरैजसो स्थानीय जातहरूको प्रयोग हुने भएकाले उन्नत जातहरूको तुलनामा उत्पादकत्व कम छ । नेपालको कूल जनसङ्ख्यामध्ये झण्डै आधा जनसङ्ख्या पहाड तथा उच्च पहाडमा बस्छन् र तिनीहरूको मुख्य खाना पनि कोदो रहेको छ । कोदो परम्परागतरूपमा खेती गरिने पहाडको एक महत्वपूर्ण बाली हो । त्यस्तै २५ प्रतिशत घर परिवारले दैनिकरूपमा कोदोको खेती हुन्छ । उन्नत जात र उन्नत प्रविधिको प्रचारप्रसारमा बढावा दिनसके खाद्य तथा पोषण सुरक्षाका लागि ठूलो टेवा पुग्नेछ ।

सम्भावना

कोदो एक सुख्खा सहनसक्ने बाली हो र नेपालमा आकाशे पानीको भरमा पनि यसको खेती हुनसक्छ । यसको खेती समुन्द्री सतहबाट २ हजार ३०० मिटर उचाइसम्म गर्न सकिन्छ । नेपाल पहाडी क्षेत्र बढि भएको मुलुक भएकाले यहाँ धेरै फाँट तथा टारहरू छन् । यी क्षेत्र कोदो खेतीका लागि उपयुक्त क्षेत्र हुन् । यि टारहरूमा राम्रोसँग कोदो खेती गर्न सकेमा प्रशस्त मात्रामा उत्पादन वृद्धि गर्न सकिन्छ । धान र मकैजस्ता बालीहरू असिँचित क्षेत्रमा राम्रोसँग उत्पादन हुन नसक्ने भएकाले त्यस्ता क्षेत्रमा कोदो खेती राम्रोसँग गर्न सकिन्छ । यो कम लागतमा धेरै उत्पादन हुनसक्ने भएको हुदाँ विपन्न कृषकका लागि यो बाली उपयूक्त छ ।

खाद्य सुरक्षाको दृष्टिकोणले पनि यो ज्यादै महत्वपूर्ण बाली हो । नेपालमा जनसङ्ख्याका हिसाबले पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा ब्राहमण, क्षेत्री, गुरूङ, मगर, लामा, शेर्पा, राई, लिम्बु, तामाङ जातिहरूको बाहुल्यता रहेको पाइन्छ । यहाँका मध्य तथा उत्तरी क्षेत्रका मानिसको मुख्य खाना कोदो नै हो र यसले धेरै मानिसको प्राण भर्ने काम गरिरहेको छ । एकातिर उच्च पहाडी क्षेत्रहरूमा वर्षेनी ठूलो धनराशी खर्च गरी चामल ढुवानी भइरहेको छ र जुन सहज तथा सुलभरूपमा सबैलाइ प्राप्त हुन कठिन भइरहेको छ । यो दिगो उपाय पनि होइन् । तैपनि राज्यको दायित्व ती क्षेत्रका जनतालाई स्थानीय तहमा खाद्यान्न उत्पादन वृद्धि गरेर आपूर्ति गर्ने वा बाहिरवाट खाद्यान्न ढुवानी गरी आपूर्ति गर्नुपरेको छ । त्यसैले दिगो उपायका लागि पहाडी क्षेत्रमा स्थानीय तहमा उत्पादन हुनसक्ने कोदो, मकै, जौ, फापर आदीको उपयूक्त अनुसन्धान र विकास नै हो ।

 

योमध्ये कोदो पनि एक महत्वपूर्ण बाली हो, जसले यो समस्याको हल गर्नसक्छ । सानैदेखि भात मात्रै खाने परम्पराले आजभोली कोदोका परिकारहरू नरूचाउनु र रूढिवादी संस्कारका कारण कोदोलाई हेला गर्ने प्रचलन बढेको छ । जुन एकदमै गलत हो । यसमा रहेका खाद्यतत्व र फाइदाजनक पक्षहरूको बारेमा जनचेतना वृद्धि गरी प्रचारप्रसार गर्न र खाने बानीको व्यवहारमा विविधिकरण गरी नयाँ पुस्ता सबै कोदाको परिकारतर्फ आकर्षित हुन सक्दछन् । जसले गर्दा स्थानीय बालीको पनि सदुपयोग हुने र खाद्य असुरक्षासम्बन्धी समस्या पनि समाधान हुनसक्छ ।

त्यस्तै राजमार्ग वरीपरी रहेका विभिन्न होटल तथा रिसोर्टहरूमा स्थानीय खानाकारूपमा कोदोको ढिँडो र रोटी, अर्गानिक तरकारी, लोकल कुखुराको मासु तथा कोदाको लोकल रक्सीले बसका यात्रु तथा पर्यटकलाई स्वागत गर्न सकेमा उपभोक्ताहरू पनि सन्तुष्ट हुने र पर्यटन व्यापार पनि फस्टाउने हुँदा कृषकको आम्दानी वृद्धि हुने तथा रोजगारीको अवसर पनि बढ्नेछ । सरकारको तर्फबाट पनि यसको उत्पादन वृद्धिका लागि ‘कोदो प्रवर्धन कार्यक्रम’ ल्याउन जरूरी देखिन्छ । त्यस्तै क्षेत्रफलका हिसाबले पकेट/ब्लक सञ्चालन समिति बनाएर कृषकलाई सहुलियत दरमा बिउ, मल र कृषि सामाग्री वितरण गर्नसके झनै राम्रो उत्पादन हुनसक्ने र कृषकको आयस्थितिमासमेत टेवा पुग्ने देखिन्छ । त्यसैले यस शुभकार्यमा कोदो बालीको उत्पादन तथा प्रवद्र्धनमा काम गर्ने सबै सङ्घसंस्था तथा सरोकारवालाहरूबीच समन्वय र सहकार्य गरी अगाडि बढ्नु आजको टड्कारो आवश्यकता हो । (लेखक, कृषि ज्ञान केन्द्र, सोलुखुम्बुमा कार्यरत हुनुहुन्छ ।)

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved