• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

हिमालमा टुकटुके मिल

  • मंसिर ९, २०७५
  • सोलुखुम्बु समाचार
alt

घिमिरे युवराज - हिमाली क्षेत्रको हवाई यात्रामा यात्रुहरूले अनियमितताको बढो सास्ती भोग्छन्। समयको अव्यवस्था ठूलो भ्रष्टाचार हो। निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिलो उड्यो जहाज। फाप्लु एअरपोर्टमै पुगेका रहेछन् डीबी दाइ र थानेश्वर बाँस्तोला। समाजसेवी डा. मिङ्मार शेर्पा पनि त्यही जहाजमा थिए। अत्यन्तै मिजासिला डा. शेर्पासँग बिदा भएर हामी डीबी दाइको पछि लाग्यौं। स्वास्थ्य विभागबाट अवकाशपछि शेर्पा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा लागेका रहेछन्।

चिसो बढ्दै थियो। गाडीमा च्यापिएर बसेपछि अलिक न्यानो भयो। डीबी दाइ मौन थिए। बाटोको अवस्था देखेर म आत्तिएको थिएँ। बीचमा चेपिएकी युवती गाडी कोल्टिँदा ड्राइभरकै काखमा पुग्थिन्। गाडीका अरू यात्रुलाई वास्तै नभएको कुरामा मलाई भने असहज लागिरहेको थियो। महिन्द्रा कम्पनीको बोलेरो जिप निकै ज्याद्रो, जस्तै अप्ठ्यारो बाटोमा पनि सजिलै चढ्दो ओर्लंदो रहेछ। मसँगै यात्रामा रहेको भाइ झकेन्द्र बीसीलाई भनेँ, यो जिप बनाउने कम्पनीलाई जति सम्मान गरे पनि पुग्दैन। यो पहाडी जीवनलाई कति सजिलो बनाइदिएको छ यसले।

फाप्लुबाट चार घण्टा गुडेपछि राति ८ बजे नेचा पुग्यौं। कार्यशालाका आयोजक सगरमाथा नाट्य समूहका साथीहरू युवराज शर्मा, लक्ष्मी बाँस्तोला, सुवास बाँस्तोलाहरू हामीलाई होटलसम्म छोड्न तयार थिए। डीबी दाइ पनि पनि साथमै थिए। हिन्दी फिल्म ‘बधाई हो’ र सोलुखुम्बुका डीबी किराँतीबीच के सम्बन्ध हुन सक्छ ?       मलाई कुनै अनुमान थिएन। संयोग कस्तो भने उक्त फिल्म हेरेको केही दिनपछि डीबी दाइसँग भेट भयो।

युवराज शर्माले इसारा गरे, ‘लोकल झ्वाइँखट्टे चाख्ने ? जीउ दुखेको ठीक हुन्छ।’ डीबी दाइ र म गफमा मस्त थियौं। ज्यानमा थकान त थियो तर मलाई उनको बारेमा सुन्नु थियो। १३औं सन्तानका रूपमा जन्मिएका उनी जन्मिँदा उनकी आमाको उमेर ५१ वर्षको रहेछ। उनले भने, ‘मेरी आमा निक्कै उर्वर पनि रहिछन्।’ फिल्म ‘बधाई हो’मा २५ वर्षे नकुल (आयुष्मान खुराना)लाई आफ्नी अधबैँसे आमा गर्भवती भएको खबरले जति तनाव थियो, डीबीका दिदी दाजुदाइ त्यस्तो परेनछ। बरु उनकी ठूल्दिदी नयाँ भाइ पाएर मक्ख परिन्। दिदीकै संगत र स्याहार सुसारमा डीबी हुर्किए। डीबीकी कान्छी दिदी नै उनीभन्दा सात वर्ष जेठी रहिछन्।

कोदाको झ्वाइँखट्टे मेरो जीवनकै पहिलो अनुभव थियो। यहाँ यो निकै प्रसिद्ध रहेछ। डीबी दाइले त २८ सालदेखि नै सोमरस पिउन छाडेका रे। किराँतीलाई देखाउँदै मैले तातो झोल कालो मेथीसँगै सुरुप्प पारेँ।

विसं २०११ मा ओखलढुंगाको चारखुमा जन्मिएका डीबी किराँती लामो संघर्षको इतिहास बोकेर अचेल सोलुखुम्बुको नेचासल्यान गाउँपालिका खाल्पा टोलमा बस्छन्। विगत दुई दशकदेखि अर्गानिक किसानका रूपमा कहलिएका यिनी मूलतः कलाकार हुन्। तर यिनका जीवनका विविध पक्ष छन्। चारखुमा बाहुन टोलको बीचमा हुर्किएका यिनले पनि किराँती संस्कारसँगै हिन्दु संस्कारलाई पनि नजिकबाट नियाल्न पाए। किराँत संस्कार अनुसारको भुमेपूजा र मुन्धुमको कथा त यिनी फलाक्छन् नै। त्यसबाहेक रामायणका धेरैजसो श्लोक यिनलाई कण्ठाग्र छ। यिनकी आमा चन्द्रमाया निरक्षर थिइन् तर रामायणको सुन्दर काण्ड रोचक ढंगले वाचन गर्थिन्। आमाले वाचन गरेका श्लोक सुन्दासुन्दै यिनलाई पनि याद भएछ।

एकल भाषा र संस्कृतिको आधिपत्यले अरू भाषा र संस्कृतिलाई कसरी ओझेल पार्छ, डीबी किराँती उदाहरण हुन्। स्कुलमा धेरै वर्षसम्म उनी एक मात्रै किराँत विद्यार्थी रहेछन्। बनारसबाट उत्तरमध्यमा गरेर आएका हिरण्यप्रसाद पोखरेललाई गुरु थापे उनले। त्यस पहाडी विकट समाजमा हिरण्यप्रसाद शिक्षाको दूत नै भएछन्। ‘त्यहाँ कक्षागत पढाइ थिएन, एउटै शिक्षकले सबै उमेरका विद्यार्थीलाई चौरमा राखेर आफू बीचमा बसेर पढाउँथे’, डीबी भन्छन्, ‘शिक्षकको हातमा लामो लौरो हुन्थ्यो, वरिपरि बसेका सबै विद्यार्थीसम्म भ्याउने। किताब त थिएनन् नै, कापीकलमको विकल्प पनि गजबकै थियो। ढुंग्रे बाँसको पट्याँसमा धुलो माटो राखेर बाँसको सिन्कोले लेख्थ्यौं।’

यसरी नै कखरा र बाह्रखरी सिके उनले। त्यसपछि लेखनको अर्को तह सुरु भयो। ‘आँपको मुना पकाएर कालो मसी बनाउने र बाँसको सिन्काले लेख्ने गथ्र्यौं। काफलको बोक्रा पकाए रातो मसी बन्छ, करमको बोक्राको पहेँलो रंग बन्छ।’ तिनै ब्राह्मण गुरुले भनेको कडा वचनले उनलाई अध्ययनतिर आकर्षित गर्‍यो। गुरुले जिस्कँदै भनेछन्, ‘राईलिम्बूका बच्चा जन्मिँदै ‘ह’ भन्छन्, हली बन्छन्। बाहुनका बच्चा जन्मिदै ‘क’ भन्छन्, कवि बन्छन्।’ अनि उनलाई पनि पढेर कवि बन्ने रहर जागेछ। बुवाको अर्को वचन पनि थपियो उनमा। कक्षामा सबैभन्दा सानो आँतका उनीसँग समूहमै झगडा गर्न आउनेहरू धेरै हुन्थे। झगडा गर्दा कहिले लुगा च्यातिने, कहिले झोला च्यातिने। अनुहार र शरीर पनि धुस्रेफुस्रे भएर पुग्दा सुरुसुरुमा त घरमा गाली खाइने हो कि भन्ने डर भयो उनलाई। उनी भन्छन्, ‘तर एक दिन बुवाले भनेछन्, ‘बाहुनहरूसँग हारेर नआउनु।’ त्यसपछि उनको मनोबल बढ्यो। आफूभन्दा ठूलालाई पनि उनी सजिलै चित खुवाउन थाले। भन्छन्, ‘घरमा आमाले दूध, दही, घिउ टन्न खान दिनु हुन्थ्यो। उहाँलाई छोराछोरी बलियाबांगा भएको हेर्ने मन थियो।’

आजको पुस्तालाई अपत्यारिलो कथाजस्तो लाग्ने बाल्यकाल, किशोरवय र युवा संघर्षको लामो कथा रच्दै डीबी दाइ देशदेसावर हिँडे। अचेल आफ्नै कर्मथलो फर्किएर साधनरत छन्। उनी धेरै गाउँलेका प्रेरणास्रोत हुन्, धेरै युवाका उत्साह हुन् र धेरै राजनीतिकर्मीका लागि खबरदारी हुन्।

अर्को साँझ। काँसको थालमा फापरको ढिँडो आयो। डीबी दाइ १३ वर्षको उमेरमा चतरा, धरान हुँदै जोगमुनी पुगेको कथा ढिँडो मुस्तै सुनाउँदै छन्। ‘दसैँमा मावलीले टीका लाएर दिएको तीन रुपैयाँ र केही सुका पैसा थियो। रेल चढेर म भारतको पुर्णियाँ पुगेँ।’ रेलमा उनको एक निर्वस्त्र साधुसँग भेट भयो। करिब पाँच घण्टासम्म उनले जीवन र जगत्का कुरा सुने। ‘कलिलो उमेर थियो। थोरै बुझेछु, धेरै कुरा बुझिनछु।’ अनुहारमा अचम्मको उत्सुकता बोकेर डीबी दाइ भन्छन्, ‘गुडिरहेको रेलबाट ती अघोरी स्वाट्ट ओर्लिएको मैले देखेँ। अहिले सम्झन्छु, त्यसो भए रेलको डम्बामा अचानक अघोरीलाई मैले कसरी भेटेँ ?       सायद उनी त्यसरी नै आए।’ डीबी अचेल अध्यात्म शक्तिमा विश्वास राख्छन्।

२०३५ सालमा एसएली गरेर उच्चशिक्षा अध्ययनका लागि ताहाचल क्याम्पस काठमाडौं पुगेका डीबी दाइ अनेरास्ववियुमा प्रवेश गरे। त्यहीँ भेट भयो दुर्जकुमार राई, अशोक राई आदिसँग। राजनीतिक मिसनमा उनी धनकुटा खटाइए। त्यसका लागि लोकसेवा पास गरेर धनकुटाको टाक्सिलो भन्ने ठाउँमा शिक्षक भएर गए। भूमिगत आन्दोलनका निकै पीडादायी कथा छन् उनका। पटकपटक जेल परेका उनी मंसिरको महिनाको रात अर्धनग्न फलामको पाइमा सुताइए। प्रहरीले तथ्य बकाउने बहानामा उनको हातखुट्टाका २० वटै नङमा पिन रोप्यो। भन्छन्, ‘रगत उछिट्टिएर परपरसम्म पुग्थ्यो।’ उनलाई बाँच्छु भन्ने आश थिएन। यसरी उनी जस्ताको संघर्ष र बलिदानीबाट थोरैथोरै गर्दै आएको हो यो देशमा प्रजातन्त्र। तर, डीबी दाइ निराश छन्। भन्छन्, ‘भूमिगत आन्दोलनका क्रममा हामीले जे हौं भनेका थियौं, त्यो रहेनौं। हिजोका पञ्चेहरूभन्दा पनि बढी अनुशासित भएनौं।’

राजनीतिमा लागे पनि उनको कवि बन्ने रहर जीवित नै रह्यो। उनले प्रशस्त लेखे। भूमिगत कालदेखि नै रंगकर्म गरे। नाटक त्यतिखेर सीधै राजनीतिक आवाजका लागि प्रयोग हुन्थ्यो। स्कुल पढ्दै गर्दा ‘देवी भागवतमा’ चाण्डको भूमिकालगायत धार्मिक नाटकहरू खेलेको उनलाई सम्झना छ। २०३४ सालमै उनले रुम्जाटार माविमा आफ्नै लेखन निर्देशनमा ‘अनि कन्दरा हाँस्छ’ नाटक मञ्चन गरे। भूमिगत भइसकेपछि २०३७ सालमा ‘आत्मसंकल्प’, ‘आफ्नो माटो’ जस्ता नाटकको लेखन तथा निर्देशन गरे। सोलुखुम्बु र ओखलढुंगाका मानिसहरूले डीबी दाइका नाटक निकैपटक हेरेका छन्। त्यस भेगमा उनलाई सबैले अति सम्मान गर्छन्।

हाम्रो कुराकानीलाई अल्मल्याउने गरी त्यहाँ आवाज आएको छ। जेबी राई र यशोदा राईको काठैकाठले बनेको तीनतले होटलमा निकै आवाज आउँछ। कात्तिक १२ देखि गाउँपालिकास्तरीय फुटबल म्याच भइरहेको हुनाले एउटा समूह यही होटलमा आएर बसेको थियो। राति अबेरसम्म र बिहान सबेरैदेखि उनीहरू हल्ला गर्न थाल्थे। काठको घर भएको हुनाले एउटा तला वा एउटा कोठाको आवाज अर्कोमा जानु स्वाभाविकै थियो। जुत्ताचप्पल सहितको खुट्टाले हिँड्दा झन् कर्कस आवाज आउँथ्यो। उनीहरूले म्याच हारे भने हामीलाई सहज हुने भयो। जिते बसुन्जेल सास्ती। तर हाम्रो दुर्दशा सुरु भएको थियो। किनभने यो टोली त्यस क्षेत्रमै अब्बल रहेछ।

जेबी राई निकै मेहनती व्यापारी हुन्। उनले २०५१ सालमा पहिलोपटक नेचामा पेल्टिक सेट जडान गरेर गाउँभरि बिजुली बाँडेका रहेछन्। उनका छोराहरू मोटरसाइकल ग्यारेज चलाउँछन्। होटलको भोजनालय यशोदा दिदी र उनकी बुहारीले चलाउँछन्। अन्न पिस्ने टुकटुके मिलको जिम्मा जेबीको। अब उनी हिँड्दा आवाज नआउने लज बनाउने योजनामा छन्।

अर्को साँझ। डीबी दाइको हातमा तातो पानी, मेरो हातमा कोदाको रस। डीबी दाइ राजनीतिबाट वितृष्णा जागेपछि २०४८ सालमा काठमाडौं आएछन्। उनी अलिअलि स्केच र पेन्टिङ पनि गर्थे। ललितकलामा राखिएको मनुजबाबु मि श्रको वाटरकलर चित्रले उनलाई निकै प्रभावित गरेछ। एउटी निर्वस्त्र आमाले बच्चालाई स्तनपान गराइरहेको चित्र थियो त्यो। त्यसपछि उनी चित्रकारितातिर लागे। ‘काठमाडौंमा म केही वर्ष चित्र कोरेर नै बाँचेँ। छोराछोरीलाई पनि यही आम्दानीले पढाएँ।’ केही वर्ष उनी खुम्बु क्षेत्रमा चित्रकारिता र मूर्तिकारिता गर्न बसे। ‘कार्भिङमा मेरो निकै रुचि भयो। ढुंगाका मूर्ति, किसिमकिसिमका लौराहरू, कलात्मक सामग्रीहरू बनाएर बेच्न थालेँ।’ तीन बीस जीवन काटेर डीबी दाइ अहिले लेखनमा व्यस्त छन्। आधा दर्जन प्रकाशित कृतिमध्ये शेर्पाहरूको जीवनीमा आधारित नाटक ‘भत्किएका घरहरू’ निकै चर्चित भयो। २०७१ सालमा मञ्चन गर्न लाग्दा विरोध भएर नाटक मञ्चन गर्न दिइएन। त्यस समाजको अन्धविश्वासमाथि लेखिएको हुनाले शेर्पाहरूले नाटकको किताब नै जलाए।

उनै डीबी दाइलाई कुलदेउता भाकेर मैले एघार दिन कार्यशाला चलाएँ। कार्यशालाबाट बनेको नाटक ‘आरन’ स्थानीय क्याम्पसको भवनमा प्रदर्शन गरियो। हामीलाई त्यहाँसम्म लगेर यो सबै व्यवस्थापन र नाटक मञ्चनसम्मको भार बोक्ने हिम्मत भएका युवाहरूको नाटकप्रतिको समर्पण देखेर म चकित भएँ। सगरमाथा नाट्य समूहमा निकै जुझारु युवाहरू रहेछन्। डीबी दाइले पनि यिनलाई विश्वास गरेर आफ्नो उत्तराधिकारी मानेका छन्। सोलुखुम्बुको रंगमञ्चबारे म बेखबर रहेछु। मेरो अज्ञानताप्रति म लज्जित छु। नेचामा वर्षौंदेखि रंगकर्म गरेका एकसेएक कलाकार रहेछन्। डीबी दाइको धेरै नाटकमा अभिनय गरेका चारजना कलाकारहरू देवकी थुलुङ, चक्र राई, थानेश्वर बाँस्तोला र वासुदेव कट्टेलले पनि ‘आरन’मा अभिनय गरे। देवकी आफैं कथा, नाटक लेख्ने, निर्देशन गर्ने गर्छन्। चक्रको काठ मिल छ। मोटरसाइकलको हेलमेटलाई सुरक्षा कवच बनाएर ठूल्ठूला मुडा चिर्ने चक्रले नाटकलाई चाहिने ‘आरन’ र सुँगुरको खोर कलात्मक बनाइदिए। ‘बरु रातभरि मिलमा काम गरेर समय निकाल्छु तर म पनि नाटक खेल्छु’, भने उनले। यी अग्रज कलाकारहरूले युवाहरूसँग मिसिएर अभिनय गरिदिँदा सिकाइको अर्को अनुभव भयो। डीबी दाइले कल्पना गरेभन्दा गजबको नाटक बन्यो।

नाटकमा जातीय छुवाछूतको कुरा स्पष्टसँग आयो। सबै सहभागीले भने, ‘यो हाम्रो समाजको सबैभन्दा ठूलो रोग हो। परिवर्तनका लागि यसलाई देखाउनुपर्छ।’ पार्टी राजनीतिको कारणले गाउँलेलाई गरेको विभाजनको कुरा पनि नाटकमा आयो। बाटो समयमा नबनेको, हाइड्रो पावर नै राजनीतिक विवादका कारण समयमा सम्पन्न हुन नसकेको त्यहाँको यथार्थलाई नाटकले प्रतीकात्मक रूपमा समेट्यो। देवकी दाइले युवाहरूलाई मारुनी नाच्न सिकाए। केही अग्रज गाउँलेहरू आएर नाटकका विद्यार्थीलाई बालन गाउन सिकाए। संगिनी गीत गाउन र नाच्न गाउँका आमाहरूले सिकाए।

सातवटी जेठानी सानिमा सासू रिझाउन सके म आफैं आऊँला

लिनचाहिँ पठाइदेऊ

झाँझरे डाँडा नि सिर्सिरे बतास

टपक्कै टिपी उडाई लग्यो एइ पछ्यौरीको छेउ

गाउँपालिका र वडाबाट पनि पदाधिकारीहरू नाटक हेर्न आएका रहेछन्। गाउँपालिका अध्यक्षको क्वार्टरमै निम्तो रहेछ। सुन्दर काठेघरको तीन तलामाथि पुग्यौं। एक व्यक्तिले हामीलाई कोठामा राखे। बस्न पाएको छैन, तिनले नाटकको समीक्षा थाले। उनले नाटक मन पराएनछन्। आलोचनाका वर्षा आए। त्यसमध्ये उनलाई मन नपरेको दुई महत्वपूर्ण कुरा थिए। ‘नाटकमा समस्या मात्रै किन देखाइयो ?       त्यसको समाधान नगरी छोड्न मिल्छ ?       अनि मारुनीको प्रसंग देखाएपछि दर्शकलाई मारुनी कसरी सुरु भयो भन्ने कुरा राम्ररी नबुझाई छोड्न मिल्छ ? ’ नाटकलाई कसरी स्तरीय बनाउने भन्नेबारेमा उनका अनगिन्ती सुझाव थिए। मैले ११ दिनमै जादु गर्ने स्थिति थिएन। घरमा पाहुना बोलाएर मनचिन्ते आलोचना गर्ने यो नयाँ तरिका थियो। डीबी दाइलगायत हामी सबै अचानक अलमलमा पर्‍यौं। उनी रहेछन् वडा नं. ३ का वडाध्यक्ष धर्मध्वज खत्री। गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले बढो शालीन ढंगमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेर हामीलाई बचाए। अध्यक्ष डुफको रंगमञ्चप्रतिको रुचि र सहयोगको भावनाले नेचामा सांस्कृतिक जागरणको ठूलो सम्भावना देखिएको छ। मूलधारका राजनीतिक प्राणीलाई कला र साहित्यको प्रभाव धेरै पर्छ भन्ने कुरामा म आश्वस्त छैन। किनभने उनीहरू आफैं ढुंगा मस्तिष्क लिएर बसेका छन्। रूपान्तरणका लागि लचकताको ठाउँ बाँकी देख्दिनँ। तर, आममानिसमा यसको प्रभाव ज्यादै उन्नत रूपमा रहन्छ भन्ने मेरो विश्वास छ।

संयोग त्यो कुशल टोलीले खेल हार्‍यो र हामीले बाँकी रात आनन्दले बितायौं। गाउँ नै गुञ्जिने जेबी दाइको टुकटुके मिल अझै कानमा गुञ्जिरहेको छ। यशोदा दिदीले मस्काएको फापरको ढिँडो र मकैभटमासको सातुको स्वाद जिब्रोमा झुन्डिएको छ। त्यसबाहेक डीबी किराँतीको ११ वटा नाटकहरूको संग्रह र देवकी राईको कथासंग्रह चाँडै प्रकाशित हुने कुराले पुलकित छु।- अन्नपूर्ण पोष्टवाट

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीले अध्य ...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद् ...

सरकारले निर्णय गरेको ...

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरे ...

संसद अधिवेशन अन्त्य ...

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको म ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved