नाम्चे काटमार निषेधित क्षेत्र


सोलुखुम्बु । सोलुखुम्बुको नाम्चे क्षेत्रलाई पुर्ण रुपमा काटमार निषेधित क्षेत्र घोषणा गरिएको छ । नाम्चे युथ क्लबको अगुवाईमा नाम्चे क्षेत्रलाई काटमार निषेधित क्षेत्र घोषणा गरिएको हो । भगवान बुद्धको शिक्षा “सबै प्राणीहरू हिंसाबाट थरथराउँछन्, सबै मृत्युबाट डराउँछन्, सबै जीवनलाई प्रेम गर्छन“ भन्ने पवित्र वचनलाई मनन गर्दै नाम्चे क्षेत्रमा काटमार निषेधित क्षेत्र घोषणा गर्ने अभियान तीव्ररूपमा अघि बढाइएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष तथा यस अभियानका अभियन्ता लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

नाम्चे युथ क्लबको पहलमा हालसम्म वडा नम्बर ३, ४ र ५ लाई काटमार निषेधित क्षेत्र घोषणा गरिएको क्लबका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार अभियानलाई सबै वडामा विस्तार गर्ने लक्ष्य राखिएको यस अभियानका अभियन्ता लामाकाजी शेर्पाले बताउनुभयो ।

क्लबले हालै स्थानीय समुदायको सहयोगमा ५२ वटा कुखुरा र ३ वटा खसीलाई उद्धार गरी नाम्चेमा बनाइएको सुरक्षित खोरमा राखिएको छ। लामा धर्मगुरुहरूको उपस्थितिमा हिजो विधिपूर्वक पूजा गरी ती जनावरहरूलाई जीवन दान (छेतार) कार्यक्रम सम्पन्न गरिएको छ । उद्धार गरिएका सबै जनावरहरूलाई सामुदायिक सहयोगबाट संकलित रकमद्वारा दैनिक आहार व्यवस्थापन गरिएको क्लबले जनाएको छ ।

कुनै कालखण्डमा पनि पहिरो तथा बाढी जस्ता प्रकोपको सामना गर्नु नपरेको हिमाली क्षेत्रले पछिल्लो समय यस्ता घटनाहरू बढिरहेकाले पनि यसमा धार्मिक विश्वास जोडिएको अध्यक्ष शेर्पाको भनाइ छ । अध्यक्ष शेर्पाले भन्नुभयो “हामीले करुणा र अहिंसाको बाटोबाट जीवनको सम्मान गर्ने बौद्ध शिक्षालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छौं। सम्पूर्ण समुदायको साथ र सहकार्यले नै यो अभियान सम्भव भएको हो।”

Scroll to Top