
सोलुखुम्बु । माप्य दुधकोसी गाउँपालिकाले थामे बाढी पीडितलाई २८ लाख राहत रकम सहयोग गर्ने भएकाेछ । कार्यपालिका बैठकले साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा हिमताल फुटेर भएको क्षतिको विषयमा छलफल गर्दै पीडित परिवारहरूलाई गाउँपालिकाले २८ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको माप्य दुधकोसी गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा आज आइतबार बसेको बैठकले थामेका बाढी पीडितलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले तयार पारेको नीति तथा प्रक्रिया अनुसार राहत रकम दशैँ भन्दा अगाडि नै उपलब्ध गराउने उपाध्यक्ष राईको भनाइ छ ।
यस्तै साउन ३२ गतेको बाढीले क्षति हुन पुगेको माप्य खुम्बु मितेरी मोटरवेल पुलको निर्माण कार्यलाई विज्ञको रिपोर्टिङ अनुसार तत्काल सुरु गर्ने निर्णय गरिएको छ भने गाउँपालिकामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । बैठकले गाउँपालिका भित्रको सडकलाई तत्काल सरसफाइ गर्ने निर्णय गरेको उपाध्यक्ष गौरव राईले बताउनुभयो ।
