सोलुखुम्बुका पत्रकार श्रेष्ठ ‘प्रादेशिक पत्रकारिता पुरस्कार २०८३’ बाट सम्मानित

विराटनगर – राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले सोलुखुम्बुका पत्रकार मनोज कुमार श्रेष्ठलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार २०८३’ प्रदान गर्दै सम्मान गरेको छ। बिहीबार विराटनगरमा आयोजित विशेष समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रेष्ठलाई नगद १ लाख रुपैयाँसहित प्रशंसापत्र प्रदान गर्नुभएको हो।

सम्मानित हुनेहरूमा श्रेष्ठसहित गोपाल दाहाल, रेजिना गौतम, ठालुप्रसाद (विवेक) गौतम, सिद्धराज राई, शेखर रेग्मी, श्यामसुन्दर सुतियार तथा सन्तोष रुचाल रहेका छन्। सम्मानित सबै पत्रकारलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो। यस वर्ष विभिन्न विधा र पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकारहरूलाई सम्मान गरिएको हो।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने तथा नागरिकलाई सुसूचित गराउने पत्रकारहरूको योगदानको उच्च मूल्यांकन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो। उहाँले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशा प्रदान गर्ने बताउँदै प्रदेश सरकारले आगामी दिनमा पनि स्वतन्त्र पत्रकारिता, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

दुर्गम जिल्ला सोलुखुम्बुमा रहेर व्यावसायिक मर्यादा, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका लागि पत्रकार श्रेष्ठको कार्यक्रममा विशेष प्रशंसा गरिएको थियो।

समारोहमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली ले पत्रकारितामार्फत सामाजिक सरोकारका विषय उजागर गर्दै जनतासम्म सूचना पुर्‍याउने सञ्चारकर्मीहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो।

समारोहमा वक्ताहरूले व्यावसायिक, उत्तरदायी र तथ्यपरक पत्रकारिताको आवश्यकता र महत्त्वमाथि जोड दिएका थिए। प्रदेश सरकारको यस सम्मानले मोफसलमा रहेर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूमा थप उत्साह, प्रेरणा र जिम्मेवारीबोध बढाएको सहभागीहरूले बताएका छन्।

उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, उच्च सरकारी अधिकारी, वरिष्ठ पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कोशी प्रदेश सरकारले गरेको यस सम्मानले प्रदेशको पत्रकारिता क्षेत्रलाई अझ मर्यादित, व्यावसायिक र उत्तरदायी बनाउन सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

Scroll to Top