कोशी सरकारमा नेकपाका ५ मन्त्री थपिने

सोलुखुम्बुका शेर्पालाइ आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा जाने चार जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम टुङ्ग्याएको छ । मन्त्रीमा इलामकी खिनु लङ्वा लिम्बू, मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीको नाम टुङ्गिएको नेकपाका एक नेताले बताए । नेकपाबाट सरकारको नेतृत्व खिनु लङ्वा लिम्बूले गर्ने भएकी छिन् ।  नेकपा कोशी इन्चार्ज राजेन्द्र राई, दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्क नेम्वाङको संयुक्त बैठकले नामको टुङ्गो लगाएको हो ।

यसैबिच नेकपाले ती मन्त्रीहरूले पाउने मन्त्रालयको पनि टुङ्गो लगाएको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच तीन मन्त्रालयका विषयमा सहमति जुटेको थियो । जसमा नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने टुङ्गो लागेको छ ।

यस्तै,आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेकपाले दाबी गरेको छ । एमालेले नाइ नभने पनि स्पष्ट जवाफ नदिएको नेकपाका नेता बताउँछन् । जसमा नेकपाले पर्यटन, वन तथा वातावरण मन्त्रालयमा खिनु लङ्वा लिम्बू, सामाजिक विकास मन्त्रालयमा गीता तिम्सिना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा जीवन आचार्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गोम्बु शेर्पालाई पठाउने भएको छ । राज्यमन्त्री दर्जीलाई कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा टुङ्गो नलागेको नेताहरूले बताएका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथग्रहणको लागि आज दिउँसो ४ बजेका लागि प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।  योसँगै कोशीमा एमालेको भागमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, खानेपानी तथा सिँचाइ, स्वास्थ्य र कृषि मन्त्रालय पाउने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच साउन ९ गते भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेश सरकार विस्तार हुने भएको हो । एमाले र नेकपा सहमति भएसँगै नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले साउन २५ गते पदबाट राजीनामा दिएका थिए ।

Scroll to Top