सोलुखुम्बु । लिखु पिके गाउँपालिका वडा नम्बर १ गोलीमा स्थानीय स्रोत साधनबाट साबुन उत्पादन सुरु गरिएको छ । उद्यम विकास शाखा लिखुपिकेको आयोजना तथा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को आर्थिक सहयोगमा स्थानीय स्तरको कच्चा पदार्थबाट साबुन उत्पादन सुरु गरिएको हो ।
परम्परादेखि स्थानीयले तीतेपातीलाई जडीबुटीका रूपमा प्रयोग गर्दै आए पनि यसलाई सदुपयोग गर्न अन्य संस्थाको सहकार्यमा गाउँपालिकाले साबुन उत्पादन गर्न थालेको लिखु पिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नतेले जानकारी दिनुभयो । ग्रामीण भेगमा प्रशस्तै मात्रामा पाइने तीतेपाती, मह, दूध, स्याउ, सुन्तला, लालीगुराँस प्रयोग गरेर अर्ग्यानिक साबुन उत्पादन थालिएको उहाँको भनाई छ ।
अध्यक्ष बस्नेतले गाउँमै पाइने तीतेपाती र अन्य कच्चापदार्थबाट साबुन उत्पादन गर्न सकेमा रोजगारी सिर्जना हुने र आयआर्जन पनि सहज रूपमा गर्न सकिने उल्लेख गर्नुभयो ।
गाउँपालिका क्षेत्रमा पाइने कच्चापदार्थ प्रयोग गरेर साबुन उत्पादन गर्न सकिने प्रचुर सम्भावना रहेको र त्यसको लागि अहिले उत्पादन भएका साबुनको गुणस्तर परीक्षणको काम भइरहेको बताउनुभयो । गुणस्तर परीक्षण पछि गाउँपालिकाले साबुन उत्पादनलाई व्यावसायिक रूपमै अगाडि बढाउने लक्ष्य रहेको उहाँको भनाई छ ।
लिखु पिके गाउँपालिकाको वडा नम्बर १ मा साबुन निर्माण तालिमका लागि काठमाडौँबाट दक्ष प्रशिक्षक ल्याई १५ जना स्थानीयलाई ५ दिने तालिम समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।



