सोलुखुम्बु: सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, खाम्जे उन्मिलो बस्ने करिब ३५ वर्षीय ग्याल्जेन शेर्पा भालुको आक्रमणमा परी गम्भीर घाइते भएका हुन्।
जुनबेसी सामुदायिक जंगलमा च्याउ टिप्न गएका शेर्पालाई भदौ १० गते अपराह्न करिब ४ बजेको समयमा जंगली भालुले अचानक आक्रमण गरेको थियो। भालुको आक्रमणबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बेनीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार गरी घाइते शेर्पालाई स्टेचरमा बोकेर जुनबेसीसम्म ल्याइएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरीले जनाएको छ ।
अहिले घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।

