खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोकिने

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न सहमति दिएको छ । निकुञ्जको सहमतिसँगै हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न पाउने भएका छन् ।

निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीदेखि रोक लगाउने निर्णय गरेका थिए ।

तर, सुरक्षाको कारण देखाउँदै हेलिकप्टर व्यवसायीहरूले सोलुखुम्बुमा अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेका थिए । व्यवसायीहरूले अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज यसअघिको निर्णयबाट पछि हटेको हो ।

सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सगरमाथा क्षेत्रका हेलिप्याडमा रातो झन्डा राखिएकोप्रति चासो व्यक्त गरेको थियो ।

नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्दा विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धनलगायतमा समस्या उत्पन्न भएको भन्दै यसरी अवरोध गर्नेमाथि कानुन अनुसार कडा कारबाही हुने चेतावनी स्थानीय प्रशासनले दिएको थियो ।

Facebook Comments
Scroll to Top