
सोलुखुम्बु । खुुम्बु पासाङल्हामु गाउँपालिकाले स्वच्छ वातावरामा बाँच्न पाउने नागरिक अधिकारमाथि प्रतिकुल प्रभाव पार्ने गरी निश्चित पेशा व्यवसायीलाई मात्र लाभ पुर्याउने क्रियाकलाप स्वीकार्य नहुने जनाएको छ । सगरमाथा राष्ट्यि निकुञ्ज क्षेत्रको हेलिकोप्टर उडानका बिषयमा गाउँपालिकाले स्थानीय सरकारसँग नागरिकको अपेक्षा जोडिने भन्दै खुम्बु क्षेत्रको प्रमुख पेशा पर्यटन व्यवसाय, विश्व सम्पदा सूचिमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको गरिमा बिषयमा निश्चित पेशा व्यवसायीलाई मात्रै लाभ हुने क्रियाकलाप स्थानीय सरकारका लागि स्वीकार्य गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताउनुभएको छ ।

हेलिकप्टर उडान व्यवस्थित गर्ने बारे नागरिक चासो, वर्तमान अव्यवस्थाको अन्त्यका लागि गाउँपालिका, निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा उपभोक्ता समिति र स्थानीयको पहलमा जनतामा छाएको उत्साहमा तुसारापात हुने गरी नागरिक उड्यान प्राधिकरण र सगरमाथा राष्ट्रिय निकुञ्जवाट पछिल्लो समयमा आएको सूचनाले गाउँपालिका, स्थानीय संघसंस्था र आमनागरिक आश्चर्यचकित भएको भन्दै गाउँपालिकाले निकुञ्जको कदमप्रति आपत्ति जनाएको छ ।
गाउँपालिकाले स्थानीय स्तरमा थप छलफल गरी सहज परिस्थिति निर्माण गरिरहेको अवस्थामा वायुसेवा सञ्चालक संघवाट एकाएक आपतकालीन उद्धार समेत नगर्ने गरी विज्ञप्ती जारी हुनुले स्थानीयवासी तथा सेवाग्राहीप्रति सेवाप्रदायकको असंवेदनशीलता प्रष्ट भएको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले दुख व्यक्त गरेको छ ।
संवादवाट समाधान खोज्ने मान्यताप्रति गाउँपालिका दृढ रहेको भन्दै गाउँपालिका अध्यक्ष शेर्पाले हवाइ उडानलाई सहज तुल्याउन गाउँपालिकाले पहल गर्दागर्दौ विभिन्न बहाना देखाई सामाजिक उत्तरदायित्ववाट बिमुख हुने र नाफा केन्द्रित हुने प्रवृत्ति द्योतक रहेको बताउनुभएको छ । उहाँले शान्त वातावरणमा पढ्न पाउने बालबालिकाको अधिकार, वन वातावरण तथा बन्यजन्तुको संरक्षण, ध्वनी प्रदुषण नियन्त्रण, स्थानीय व्यवसायीहरुको संरक्षणको परिधी भित्र रही सर्वपक्षीय छलफलको माध्यमवाट समस्या समाधानका लागि तत्पर रहेको समेत जनाउनुभएको छ ।
पछिल्लो समय सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानका बारेमा वायुसेवा सञ्चालक संघले सुरक्षाको कारण देखाउँदै आपतकालीन उद्धार समेत नगर्ने भन्दै उडान बन्द गरेको थियो । संघले उडान बन्द गर्ने भएपछि सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न सहमति दिएको थियो ।
