नेचासल्यानको प्रशासकीय भवन निर्माण सम्पन्न

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को वैशाखमा सम्झौता गरी जेठ १६ गतेदेखि निर्माण सुरु भएको भवनको निर्माण कार्य हालै सम्पन्न भएको हो । 

निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई बुधबार साँचो हस्तान्तरण गरेको छ ।

गाउँपालिका अध्यक्ष धनजन राईले साँचाे लिँदै निर्माण कम्पनीलाई समयभित्रै भवनको निर्माण कार्य सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो । वहाँले अब फागुन ७ गते भवनको औपचारिक रूपमा उद्‌घाटन हुने समेत जानकारी दिनुभएको छ । पार्किङ सहितको साडे ३ तले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण  गरिएको र अब प्रशासनिक सेवा प्रवाहमा सहजता हुने गाउँपालिका उपाध्यक्ष बिना राईले बताउनुभयो।   

नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।  २०८१ वैशाख १० गते गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राईले भवनको शिलान्यास गर्नुभएको थियो ।

Facebook Comments
Scroll to Top