नगरपालिकाले तीन लाख दिने
सोलुखुम्बु।पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाका ५ जनाको परिवारलाई जनही १ लाख नगद राहत उपलब्ध गराईएको छ। अविरल बर्षापछि शनिबार पहिरोमा परि ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ९, गोराखानीका ३ जना र वडा नम्बर १० टाप्टीङका दुई जनाको परिवारलाई आइतबार सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट तत्कालका लागि ५० र जिल्ला बिपद् व्यबस्थापन समितिको तर्फबाट ५० हजार गरि नगद १ लाख राहतसहित त्रिपाल र सिरक उपलब्ध गराईएको हो।
पीडित परिवारसंगको भेटघाट र घटनास्थलको अवलोकनका लागि घटनास्थल पुग्नुभएका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा,प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री,उपमेयर गान्धीमाया तामाङ सहितको टोलीले सो राहत रकम हस्तान्तरण गर्नुभएको थियो।कार्यक्रममा नगर प्रमुख शेर्पाले घटना अत्यन्तै पिडादायी र दु:खद भएको बताउंदै नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर पीडित परिवारलाई ३ लाख राहत प्रदान गर्ने जानकारी समेत गराउनुभएको थियो।
नगरपालिकाको वडा नं १० टाप्टीङ सैलुनका टेकबहादुर मगरको ढुंगा माटोले बनेको काठको छानो भएको जोरनाले घर पहिरोले बगाउँदा उनकी छोरी ३३ बर्षिय कविता मगर र बुहारी २४ बर्षकी रुपु मगर तथा नगरपालिकाकै वडा नं ८ गोराखानी, छेवार बस्ने ङिमा दावा शेर्पाको ढुंगामाटोले बनेको काठको छानो भएको २ तल्ले घर पहिरोले बगाउँदा घर भित्र रहेका २३ बर्षिय ल्हामु शेर्पा, करिब २८ बर्षिय रिना तामाङ र ७ महिनाको फुर्वा लोप्साङ शेर्पाको मृत्यु भएको थियो। घटनामा परी करिब ६० बर्षिय याङजी शेर्पा वाङछु मेमोरियल अस्पताल टाप्टीङमा उपचार भईरहेको छ ।
मृतकहरुको आजै वाङछु मेमोरियल अस्पताल टाप्टीङमा पोस्टमार्टम गरिएको छ।




