पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।

यससँगै लुइस एनरिकेको पीएसजीले एकै सिजन तीन मुख्य उपाधि जित्दै ट्रेबल गरेको छ । पीएसजीले यसअघि नै फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ ।

लुइस एनरिकेले ट्रेबल उपाधि जित्ने दोस्रो प्रशिक्षक समेत बनेका छन् । यसअघि उनले सन् २०१५ मा बार्सिलोनाबाट ट्रेबल उपाधि जितेका थिए । एनरिके अघि पेप ग्वार्डिओलाले बार्सिलोना र म्यानचेष्टर सिटीबाट ट्रेबल उपाधि जितेका थिए ।

पीएसजीको जितमा डेसिर डुएले २ गोल गर्दा अचरफ हाकिमी, केभिचा केभारात्खेलिया र सेनी मायुलुले १-१ गोल गरे । पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा ३ गोल थप्यो ।

जर्मनीको म्युनिखस्थित एलियन्ज एरेनामा इन्टरमाथि सानदार जित सहित पीएसजीले च्याम्पियन्स लिगको ७० वर्षे इतिहासमै फाइनलमा सबैभन्दा ठूलो गोल अन्तरको जित हात पारेको हो ।

खेलको १२औं मिनेटमा डुएको पासमा ट्याप इन गोल गर्दै हाकिमीले पीएसजीलाई अग्रता दिलाए । २०औं मिनेटमा ओस्मान डेम्बेलेको पासमा डुएले प्रहार गरेको शट डिमार्कोलाई लागेर डिफ्लेक्ट भइ गोल भएको थियो । पहिलो हाफमा पीएसजी २-० ले अगाडि रह्यो ।

दोस्रो हाफको ६३औं मिनेटमा डेम्बेलेको ब्याक हिल पासमा भिटिन्हाले उपलब्ध गराएको बललाई डुएले जाली चुमाउँदै व्यक्तिगत दोस्रो गोल गरे । पीएसजी ३-० ले अघि बढ्यो ।

७३औं मिनेटमा डेम्बेलेको थ्रू बलमा केभारात्खेलियाले सोमरलाई बिट गरेर गोल गर्दै पीएसजीको अग्रता अझ फराकिलो बनाए । ८७औं मिनेटमा वैकल्पिक खेलाडी मायुलुले गोल गर्दै पीएसजीको ५-० को जित पक्का गरे ।

पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्ने दोस्रो फ्रेन्च क्लब बनेको छ । यसअघि सन् १९९३ मा मार्सेले च्याम्पियन्स लिग जितेको थियो ।

प्रशिक्षक लुइस एनरिकेका लागि यो दोस्रो च्याम्पियन्स लिग उपाधि हो । यसअघि उनले सन् २०१४/१५ को सिजनमा स्पेनिस क्लब बार्सिलोनालाई पनि यो सफलता दिलाएका थिए ।

पीएसजीले सेमिफाइनलमा आर्सनललाई हराएको थियो भने इन्टरले बलियो टोली बार्सिलोनाको चुनौती पन्छाएको थियो ।

Scroll to Top