
सोलुखुम्बु । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन्। पछिल्लो केहि दिनदेखि मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा सयौं पर्यटकहरु समस्यामा परेका हुन् ।
पर्यटकीय सिजनमा खुम्बु भ्रमणमा आउने अधिकांश पर्यटक जहाजमार्फत् लुक्ला आउने गर्छन् । तर मौसम प्रतिकूल हुँदा तालिका अनुसार जहाज उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । आज तारा एयर, सिता एयर र समिट एयरको उडान तालिका भए पनि कुनै पनि उडान भएन । बुधबार भने नियमित उडान मार्फत करिब ७ सय पर्यटक खुम्बु आएका थिए ।
मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौँ फर्किएका छन्। ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।






