
सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणको लागि सम्झौता गरिएको छ । सल्लेरीमा बन्ने भवन निर्माणको जिम्मा रामेछाप कन्स्ट्रक्सन पाएको छ ।
गत बिहीबार सोलुदुधकुण्ड नगरपालिका र रामेछाप कन्स्ट्रक्सन बिच निर्माण सम्झौता भएको हो । सम्झौतामा प्रशासनिक भवन निर्माणको समय सीमा २०८२ फागुन मसान्तसम्म उल्लेख गरिएको छ । सम्झौता पत्रमा सोलुदुधकुण्ड नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत राम कुमार खड्का र निर्माण कम्पनीका प्रतिनिधि पूर्ण बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।


१० करोड ६ लाख ८० हजार ४ सय ५७ रुपैयाँमा बोलपत्र आव्हान गरिए पनि ३१.२७ प्रतिशत न्यून कबुल गरी बोलपत्र पेस गर्ने कन्स्ट्रक्सन ६ करोड २६ लाख ४१ हजार ५ सय ८६ रुपैयाँ (भ्याट बाहेक)मा भवन निर्माणको जिम्मा पाएको छ ।
सम्झौता पत्र हस्तान्तरण गर्दै नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बोलपत्र कागजात र सम्झौतामा उल्लेखित सर्तहरूको पालना गर्दै समय अवधिभित्रै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।

मौलिक शैलीमा निर्माण हुने भवनले हिमाली संस्कृति र पहिचान झल्काउने नगर प्रमुख शेर्पाले बताए । भवन १५० जना र ३५० जना अट्ने क्षमताको साना/ठुला सभा हल सहित भवन निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ ।

