सोलुखुम्बुमा ‘रेड पाण्डा म्याराथन २०२६’ हुने

सोलुखुम्बुः सोलुखुम्बुमा ‘रेड पाण्डा म्याराथन २०२६’ हुने भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको बासस्थान पुनर्स्थापनाबारे जनचेतना फैलाउने उद्देश्यका साथ सोलुखुम्बुको सल्लेरीमा यही भदौ २० गते ‘रेड पाण्डा म्याराथन २०२६’ को तेस्रो संस्करण आयोजना हुने भएको छ। यस विशेष प्रतियोगितामा प्रख्यात् अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दयाहाङ राईको समेत उपस्थिति रहने बताइएकोछ।

 

रेड पाण्डा नेटवर्कको आयोजना र प्ले फर नेचरको मुख्य आर्थिक सहयोगमा हुन लागेको यस कार्यक्रमको स्थानीय साझेदार हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु रहेको छ। संस्थाका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसर पारेर सञ्चालन गरिने यो म्याराथनले पर्यटकीय जिल्ला सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न ठूलो सहयोग पुर्‍याउनेछ।

४८ किलोमिटर लामो यो म्याराथन ट्रेल समुद्री सतहबाट २ हजार ३ सय ६० मिटर उचाइमा रहेको सल्लेरीस्थित थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भएर ४ हजार ५४ मिटर उचाइको पिके पिक पुगी पुनः सोही स्थानमा फर्किएर टुङ्गिनेछ। २ हजार ८ सय ७२ मिटरभन्दा बढीको उचाइ चढ्नुपर्ने र धावकहरूले ७ घण्टा ३० मिनेटभित्र पूरा गर्नुपर्ने भएकाले यो ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले ३ पोइन्ट प्रदान गरेको छ।

यस वर्ष स्थानीय समुदाय र सबै उमेरका व्यक्तिको सहभागितालाई प्रोत्साहन गर्न पहिलो पटक ५ किलोमिटर लामो ‘रेड पाण्डा फन रन’ समेत समावेश गरिएको छ। थेकछेन पेमाछोलिङ गुम्बाबाट सुरु भई सेर्गा खोप हुँदै फाप्लु गुम्बामा पुगेर समापन हुने यस फन रनमा अभिनेता दयाहाङ राईले सहभागीहरूसँगै उपस्थिति जनाउनेछन्।

हिमाली वातावरण र प्राकृतिक सम्पदाको रक्षा गर्न नयाँ पुस्तामा जिम्मेवारी बोध गराउने लक्ष्य राखिएको यस म्याराथनमा सहभागी हुन इच्छुक धावकहरूले संस्थाको आधिकारिक वेबसाइटमार्फत अनिवार्य रूपमा दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ।यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र सन् २०२५ मा इलाममा सम्पन्न भएका दुई संस्करणमा नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र जापानका गरी १ सय ४० धावकले सहभागिता जनाएका थिए ।

वनमा मानिसहरूले नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदाहरू रहेको र रेड पाण्डा जसमध्ये एक भएको अध्यक्ष शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाले यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्न र यसको संरक्षण गर्नु वर्तमान तथा भावी पुस्ताको साझा जिम्मेवारी हो भन्ने कुरा सम्झाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

Scroll to Top