सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्ला कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परिक्षण गरेको छ । कारागारमा कैद भुक्तान गरिरहेका १ सय ५ कैदीहरू मध्ये आज शनिबार ६४ जना कैदीहरूको स्वास्थ्य परिक्षण गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल फाप्लु र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सहकार्यमा कारागारमा रहेका ५४ पुरुष र १० महिला गरि ६४ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । सुगरको जाँच, आँखाको जाँच, रोगका लक्षणहरूको उपचार, मुख, स्वास्थ्यको अवस्था लगायतको परिक्षण गरि उपचारका लागी सल्लाह प्रदान गरिएको छ ।
कैदीहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्दै कैदीहरूको स्वास्थ्य अवस्था बुझ्नका लागि जिल्लामा नै पहिलो पटक यस्तो कार्यक्रम गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । कारागारमा नै स्वास्थ्यकर्मी सहितको टोली पुगेर पहिलो पटक सेवा प्रवाह भएको हो । सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीका रुपमा आएपछि बिरामी कैदीलाई जिल्ला अस्पतालमा नै पुगेर नागरिकता वितरण देखि कारागारका अन्य कैदीबन्दीलाई समेत नागरिकता प्रदान लगायतका सेवा प्रवाह भएको छ । कारागारमा नै सेवा पाउँदा कैदीबन्दी समेत हर्षित बनेका छन् ।




