
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको फोहोर मैला व्यवस्थापनमा सोलुदुधकुण्ड नगरपालिका र शेर्पा बालबालिका सङ्घ बीच सहकार्य हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिकामा सोलु चामको सहयोग र शेर्पा बालबालिका सङ्घको सहजिकरणमा फोहोरमैला व्यवस्थापन कार्यका लागि सम्झौता समेत सम्पन्न भएको छ ।
बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र शेर्पा बालबालिका सङ्घका अध्यक्ष निमा शेर्पा बीच फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर खर्च गर्ने गरि सम्झौता भएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाका ५ वटा वडामा फोहोरमैला व्यवस्थापन, फलफूलका बिरुवा वृक्षारोपण, विद्यार्थीमा जनचेतना अभिवृद्धि लगायत क्षेत्रमा खर्च गर्ने गरी नगरपालिका र सङ्घबीच सम्झौता भएको हो । सम्झौतामा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र शेर्पा बालबालिका सङ्घका अध्यक्ष निमा शेर्पाले हस्ताक्षर गर्नुभएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाले हरियाली प्रबद्र्धन र फोहोरमैला व्यवस्थापनलाई बिशेष ध्यान दिएर काम गरिरहेको अवस्थामा यस सम्झौताले अझ सहयोग पुग्ने मेयर शेर्पाले विश्वास व्यक्त गर्नुभयो । वहाँले ५ वटै वडामा चाँडै नै प्रभावकारी रुपमा काम शुरु गर्ने बताउनुभयो ।
सम्झौता बमोजिमको काम प्रभावकारी भएको खण्डमा आगामी वर्षहरूमा पनि सम्झौता नवीकरण गर्ने योजना रहेको शेर्पा बालबालिका सङ्घ अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो । शेर्पा बालबालिका सङ्घले नगर क्षेत्र भित्रका विद्यालयमा फोहोरमैला व्यवस्थापन सम्बन्धी अन्तरकृयाका तथा प्रयोगात्मक कार्य सञ्चालन गर्दै आएको छ ।
