सोलुखुम्बु। महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङले आगामी आर्थिक वर्षभित्र प्रशासनिक भवनको निर्माण कार्य सुरु गरी सम्पन्न गर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा प्रशासनिक भवन निर्माणको कार्यलाई प्राथमिकतामा राखेर गाउँसभामा बजेट विनियोजन गरिने वहाँले बताउनुभयो ।
करिब ३३ करोड रुपैयाँको बजेट गाउँपालिकामा ल्याएको बताउँदै गाउँपालिकाको प्रशासनिक भवनका साथमा ४ वटा पुलको निर्माण कार्यलाई आगामी आर्थिक वर्षमा पूर्णता दिने गर्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।
४ तले सुविधा सम्पन्न भवन निर्माण गरिने बताउँदै सो को लागि १० करोड लागतको अनुमान गरिएको छ । वहाँका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बुदुम खोला, भुवा खोला, फूलवाप्पि र हुँगा खोलामा निर्माण गरिएको बेली ब्रिजलाई पूर्णता दिने योजना रहेको छ ।
आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन र दिगो यातायातको पहुँचलाई जोड दिँदै ४ वटा पुलको निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको अध्यक्ष कुलुङ बताउनुहुन्छ ।