
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा चार दिने समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।
रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य समन्वयमा उक्त गोष्ठी सुरु भएको रिड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिनुभयो ।
पालिकाको सभाहलमा जारी गोष्ठीको विहिबार उद्घाटन गर्नुहुदै पालिका प्रमुख असिम राईले समावेशी शिक्षा आजको आवश्यकता रहेकाले व्यावहारिक रुपमा पनि लागु गर्न पालिका पर्यत्नाशील रहेको बताउनुभयो ।
विकासको मेरुदण्ड शिक्षा क्षेत्र भएकोले आफ्नो पहिलो प्राथमिकता शिक्षा शिक्षा क्षेत्र र त्यसपछि मात्र अन्य क्षेत्र रहेको बताउदै विगत देखि नै शिक्षा सुधारका लागि रीड नेपालसंग सहकार्य गर्दै अनेकौ प्रयास गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले यो कार्यशाला शैक्षिक सुधारका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउदै समावेशी शिक्षाका बाधाहरूलाई चिर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
गोष्ठीमा पालिका भित्रका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका शाखा प्रमुख तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु सहित २९ जनाको सहभागिता रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण रीड नेपालका प्रशिक्षक तथा सम्बन्धित विषय विज्ञ रामलाल धामी, गोकर्ण शर्मा, अभिषेक विक्रम शाह, लक्ष्मी श्रेष्ठ र अर्पण रेग्मीले गरिरहनुभएको छ ।




