काठमाडौंँ । दुर्गम क्षेत्रको शिक्षा विकासका लागि रक्षा मन्त्री मानवीर राई र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बीच छलफल भएको छ । बुधबार शिक्षा मन्त्रालयमा नै पुगेर रक्षा मन्त्री राईले दुर्गम क्षेत्र शिक्षा अवस्थामा बारेमा जानकारी गराउँदै गम्भिर छलफल गरेको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा रक्षा मन्त्री राईले सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकाको वडा नं. ४ र ५ गुदेलका शिक्षकहरु सेवा सुविधाको हिसावमा मारमा परेका बताउनुभयो । मन्त्री राईले गुदेलमा कार्यरत शिक्षकले पाउने तलव भत्तामा ख बर्गको सेवा सुविधा लिन बाध्य भएको जानकारी गराउँदै एउटै पालिकाभित्र विकट क्षेत्रमा कार्यरत शिक्षकहरुलाई निरुत्साहित हुने गरी सेवा सुविधा उपलब्ध गराईएको भन्दै तत्कालै पुर्नबिचार गरी समस्या समाधानका लागि शिक्षा मन्त्री भट्टराईलाई आग्रह गर्नुभएको छ ।
भेटमा सोलुखुम्बुबाट प्रतिनिधि सभामा निर्वाचित भई रक्षा मन्त्री बनेका राईले महाकुलुङ गाउँपालिकाबाट प्राप्त पत्र सहित समस्या समाधानका लागि लिखित सिफारिस समेत गर्नुभएको छ । मन्त्री राईले सोलुखुम्बु जस्तै अन्य दुर्गम जिल्लाको पनि हालत उस्तै रहेको बताउँदै यसले शिक्षकहरुमा उत्साह कम हुने भन्दै शैक्षिक वातावरणमा सुधार ल्याउन शिक्षकहरुमा पनि उत्साह थप्ने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
दुई मन्त्रीको बीचमा छलफल पश्चात शिक्षा मन्त्री भट्टराईले यसअघि लागू भएको ऐन तथा कानुन एवं सेवा सुविधा सम्बन्धी भएको व्यवस्थालाई अध्ययन गरी प्रक्रियागत ढंगबाट समस्या समाधान गर्ने बताउनुभएको छ ।