जिल्लाको नेले-बुढिडाँडा-सोताङ-महाकुलुङ सडक कालोपत्रेका लागि रु.३० करोडको बहुबर्षीय कार्यक्रम स्वीकृत भएको छ । थुलुङ दुधकोशी स्थानीय सरकारको प्रस्तावमा कोशी प्रदेशमार्फत उक्त कार्यक्रम स्वीकृत भएको थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिकाको लागि अर्को महत्त्वपूर्ण कार्यक्रम स्वीकृत भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । जसको लागि अहोरात्र खट्नुहुने प्रदेश सांसद गोम्बु शेर्पा(कर्ज्याङ) र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो धन्यवादको पात्र बन्नुभएको अध्यक्ष राईले सामाजिक संजालमार्फत व्यक्त गर्नुभएको छ ।
गाउँपालिकाको गौरवको योजना अन्तर्गत नेले-मुक्ली कालोपत्रेको काम धमाधम भइरहेको भन्दै अध्यक्ष राईले नेले-बोगल हुँदै बुडिडाँडा- सोताङ- महाकुलुङ सडकको लागि पनि बहुबर्षीय कार्यक्रम स्वीकृत हुनु अर्को खुसीको कुरा रहेको बताउनुभयो ।
गाउँपालिका प्रवक्ता समेत रहनुभएका थुलुङ दुधकोशी-७ का वडा अध्यक्ष भोजराज कार्कीले स्थानीयको आवश्यकता अनुसार निर्वाचनका बेला वडाको तर्फबाट सांसद शेर्पालाई अनुरोध पत्र समेत पेस गरिएको स्मरण गर्दै माग पूरा भएको बताउनुभयो । कार्यक्रम स्वीकृत गराउन स्थानीय सरकारको तर्फबाट महत्त्वपूर्ण भुमिकासहित प्रस्ताव पेश गर्नुहुने गाउँपलिका अध्यक्ष असिम राई र पहल गर्नुहुने सांसद शेर्पालाई थुलुङ दुधकोशी ७ र ८ देउसासहित कोशी पारीका नागरिकले धन्यवाद दिएका छन ।
यता प्रदेश सांसद शेर्पाले पनि निरन्तरको प्रस्ताव,दबाब र पहलकदमीपछि रु.३० करोड लागतको नेले-सोताङ-महाकुलुङ सडक स्तरोन्नति र कालोपत्रे गर्ने बहुबर्षीय कार्यक्रम स्वीकृत भएको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की,भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरलाई हार्दिक धन्यवाद दिनुभएको छ ।