मिर्गौला प्रत्यारोपण गरेका एकजना नेपालीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिका वडा नं ७ का स्थायी बासिन्दा पेम्बा शेर्पाले बुधबार बिहान ९ बजेर ३० मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन्।उनको आरोहण अभियानको ब्यवस्थापन हाई माउण्टेन ट्रेक्स कम्पनीले गरेको थियो।
सगरमाथा आरोहणका लागि शेर्पा १ महिना अघि आधार शिविरतर्फ प्रस्थान गरेका थिए।‘मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण अभियान २०८१’मृगौला प्रत्यारोपणपछि पाएको जीवनलाई सार्थक बनाउन तथा सिंङ्गो मानवजगतलाई प्रेरणादायी सन्देश दिन संचालन गरिएको आरोही शेर्पाले बताए। मृगौला प्रत्यारोपणपछि हरेक व्यक्ति अन्य साधारण व्यक्ति जस्तै सबै काम गर्न सक्षम हुने उनले बताए।
मिर्गौला प्रत्यारोपण गरेको २४ महिना पछि सन २०२४ को मार्च २२ तारिखमा उनले ६ हजार १ सय ९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेका थिए।
जापानमा ७ वर्ष काम गरी पत्नीलाई भेटन नेपाल आउने क्रममा आरोही पेम्बा शेर्पाको मृर्गौलामा समस्या देखिएको थियो। २ वटै मिर्गौलाले काम नगरेपछि उनलाई प्रत्यारोपणका लागि आफ्नै बाबुले मिर्गौला दान दिएका थिए।