वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सोलुदुधकुण्ड उत्कृष्ट

सोलुखुम्बु । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका उत्कृष्ट भएको छ । सोलुदुधकुण्ड नगरपालिकाले ९९ अंक प्राप्त गर्दै उत्कृष्ट भएको हो । निश्चित सूचकांकहरुका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्यांकनमा सोलुदुधकुण्ड नगरपालिका जिल्ला कै उत्कृष्ट बन्न सफल भएको हो ।

लिखु पिके गाउँपालिकाले ९३.५ प्राप्त गर्दै दोस्रो र ८३.५ अंक प्राप्त गर्दै थुलुङ दुधकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरी महाकुलुङले ७८ र खुम्बु पासाङ ल्हामुले ७३ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै जिल्लाका नेचासल्यान, माप्यदुधकोशी र सोताङ गाउँपालिकाले भने यो मूल्यांकनमा सहभागी नभएका जनाइएको छ । कार्य सम्पादनमा पनि सोलुदुधकुण्ड नगरपालिकाले ६९.८ अंक प्राप्त गर्दै जिल्ला कै पहिलो स्थानीय तह बनेको थियो ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा पनि नगरपालिका जिल्लाकै उत्कृष्ट भएको थियो ।

स्थानीय सरकारको आर्थिक व्यवस्थापन, स्रोत परिचालन, खर्चको प्रभावकारिता, पारदर्शिता र दिगोपनका आधारमा गरिने वित्तीय जोखिम मूल्यांकनले कुन स्थानीय तह आर्थिक अनुशासनमा कति बाँधिएको छ भन्ने कुराको संकेत गर्ने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाइ रहेको छ ।

Scroll to Top