क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । हिमालयन फाउन्डेशन कर्पोरेशनले अन्य सङ्घ संस्थाहरूसँगको सहकार्यमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्न लागेको हो।
नेपाली चलचित्रको प्रचार प्रसार र प्रवद्र्दनका साथैं नेपाली चलचित्रलाई अन्तराष्ट्रियकरणका लागि सहयोगी बन्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हिमालय कर्पोरेशनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी दिए। संस्थापक श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्ष र क्रिसमसको पूर्व सन्ध्यामा डिसेम्बर २१ मा अवार्ड आयोजना गर्न लागिएको हो।
गोल्डेन नेपाली मुभी मेकर एलएलसी, सोमनामे एलएलसी, राजपुत गु्रप एलएलसी र लेटी ल को सहकार्यमा अवार्ड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित कलाकारहरूको सहभागिता रहने छ । अवार्डसँगै आयोजकले डिसेम्बर २२ मा नेपाल परेडको समेत आयोजना गरेका छन्। अवार्डको लागि आवश्यक तयारीको काम भइरहेको आयोजक मध्येका एक रवि सिङ्ग बस्नेतले जानकारी दिए । हिमालयन फाउन्डेसन कर्पोरेशन गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएको संस्था हो।