
सोलुखुम्बु – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला सोलुखुम्बुमा मङ्गलबार शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालय, सदरमुकाम सल्लेरी पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा विभिन्न १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । चिसो मौसमको समेत प्रवाह नगरी उम्मेदवारहरू आफ्ना समर्थक तथा शुभेच्छुकसहित मनोनयन दर्ताका लागि उपस्थित भएका थिए ।
यस्तै श्रम संस्कृति पार्टीबाट बियस राई, जनता समाजवादी पार्टी नेपालबाट ल्हाक्पा शेर्पा, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, आम जनता पार्टीबाट गुणराज भट्टाराई तथा नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगरले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोखरेलले बताउनुभयो । मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि जिल्लामा निर्वाचनको माहोल थप तातेको छ ।






