सोलुखुम्बु – एमाले उम्मेदवार: कल्पना राई

सोलुखुम्बु – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि कल्पना राईलाई उम्मेदवार बनाएको छ । वि.सं. २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राईले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–५, गोर्खीममा वि.सं. २०४५ कार्तिक १६ गते जन्मिएकी उनी गुमान सिंह राई र सञ्चमाया राईकी छोरी हुन् । शिक्षा शास्त्रमा स्नातकोत्तर (एम.एड) र कानून विषयमा स्नातक (एल.एल.बी) अध्ययन पूरा गरी अधिवक्ताका रूपमा समेत कार्यरत राई शिक्षित र कानूनी पृष्ठभूमि भएकी नेतृका रूपमा चिनिन्छिन् ।

उनको राजनीतिक यात्रा वि.सं. २०५८ सालमा विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको हो । बिरेन्द्र ज्योति माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारीबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी राई २०६१ सालमा अनेरास्ववियु सोलुखुम्बु जिल्ला कमिटी सचिव, २०६३ सालमा तत्कालीन माथिल्लो सगरमाथा अञ्चल कमिटी सचिव तथा २०६४ सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेकी थिइन् ।वि.सं. २०६५ सालदेखि नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्यका रूपमा कार्यरत राई २०६६ देखि २०८० सालसम्म निरन्तर जिल्ला कमिटी सचिवालय सदस्य रहिन् ।

हाल उनी नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सचिवको जिम्मेवारीमा छिन् । राजनीतिक गतिविधिसँगै उनले विभिन्न राजकीय जिम्मेवारी पनि निर्वाह गरेकी छन् । २०६५ सालमा दुर्गम क्षेत्र विकास समितिको सदस्य तथा २०७० सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको सदस्यको रूपमा उनले काम गरेकी थिइन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा राई सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उपप्रमुखको कार्यकालमा उनले नगरपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाह सुधारमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरू बताउँछन् ।

४० वर्ष मुनिको युवा तथा महिला उम्मेदवार भएकी राईले प्रतिनिधि सभामा सोलुखुम्बुको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई प्राथमिकतामा राख्ने बताउँदै आएकी छन्। लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता र स्थानीय तहमा निर्वाह गरेको जिम्मेवारीका आधारमा यस पटकको निर्वाचनमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमालेले सोलुखुम्बुमा अनुभवी, शिक्षित र जनआधारित नेतृत्व प्रस्तुत गरेको दाबी गर्दै राईको उम्मेदवारीले जिल्लाको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Scroll to Top