सोलुखुम्बु — ओङ्छु शेर्पा ट्रस्टको पहलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ र ३ मा रहेका चार विद्यालयका २५० जना विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको छ। शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त झोला वितरण गरिएको काँग्रेसका युवा नेता नविन थापाले जानकारी दिनुभयो ।
झोला प्राप्त गर्ने विद्यालयहरूमा जीवन ज्योति माध्यमिक विद्यालय कागेल, वाउन्डीस्थित कागेल आधारभूत विद्यालय, वात्तिमस्थित बागेश्वरी आधारभूत विद्यालय र भोर्लेनीस्थित शुशिला आधारभूत विद्यालय छन्।
झोला वितरण कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा नेपाली कांग्रेस नयाँ दृष्टिकोणसहित प्रस्तुत हुने बताउनुभयो। उहाँले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षामा पहुँच सहज बनाउन यस्ता सहयोगी कार्यक्रमहरू प्रेरणादायी भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण निरौला, नेपाली कांग्रेस क्षेत्रीय सभापति तथा टान (TAN) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, ओङ्छु शेर्पा ट्रस्टका कार्यकारी निर्देशक सोनाम शेर्पा, कांग्रेस महासमिति सदस्य नवीन थापा, अशोक झा, नेविसंघ केन्द्रीय सदस्य बाबुराम आचार्य, प्रदेश सम्मेलन सदस्य कैलाश के.सी लगायतका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।
झोला पाएपछि विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनले ओङ्छु शेर्पा ट्रस्टप्रति आभार प्रकट गरेका छन्। उनीहरूले यस्ता कार्यले विद्यार्थीलाई पढाइप्रति झनै उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन्।