कोशी प्रदेशभरका जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नत गरिने

धनकुटा । कोशी प्रदेश भित्रका सबै जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नती गरिने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका नवनियुक्त स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले मंगलबार पदभार ग्रहण गरेपछि पहिलो टिप्पणी आदेशमा स्तरउन्नत गर्ने उल्लेख गरिएको हो ।

जिल्लाका अधिकांश अस्पताल अझै पनि १५ शैयामा सिमित रहेका छन् । सबै जिल्ला अस्पताललाई स्तरउन्नत गर्न आवश्यक प्रक्रिया अगाडी बढाउँदै लगिने उल्लेख गरिएको छ ।

टिप्पणी आदेशमा भनिएको छ, ‘सरकारको नीति अनुसार ति अस्पताललाई ५० शैयामा विस्तार गर्न कार्य गर्न सदर गरिएको छ ।’ विगतमा पनि धनकुटा लगायतका अस्पताल स्तरउन्नतको चर्चा गरिएपनि विस्तार हुन सकेको थिएन । उक्त अवस्थालाई ख्याल गर्दै सरकारका नीति अनुसार ५० शैयामा विस्तार गर्ने प्रक्रिया अघि बढाउने मन्त्रालय स्रोतको भनाई छ । मन्त्री पराजुलीकाे कार्यकालमा याे कदमलाई महत्वका साथ लिइएकाे जनाईएकाे छ ।

मन्त्री पराजुलीसंगै स्वास्थ्य राज्यमन्त्री उमाकान्त गाैतमले समेत पदभार ग्रहण गरेका छन् । यस अघि दुवै जना आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेका थिए ।

Scroll to Top