बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ देखि खुल्ने

सोलुखुम्माबु । १९.८ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै आगामी भदौ २२ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि सेयर बाँडफाँट टुंग्याइसकेको कम्पनीले अब दोस्रो चरणको बिक्री प्रक्रिया अघि बढाएको हो।

कम्पनीको कुल जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ। जसमध्ये २० प्रतिशतले हुन आउने सेयर सर्वसाधारण (स्थानीयसमेत) का लागि छुट्याइएको थियो। अघिल्लो चरणमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट भइसकेकाले अब बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयर मात्रै सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमै यो सेयर खरिद गर्न पाउनेछन्।

बिक्री प्रबन्धक एनएमबि लिमिटेडका अनुसार इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन्। छिटोमा भदौ २५ गते निष्कासन बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा असोज ५ गतेसम्म म्याद लम्बिनेछ। इक्रा नेपालले यस आईपीओलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। लगानीकर्ताले ‘मेरो सेयर’ अनलाइन प्रणाली वा सि–आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थामार्फत सहजै आवेदन दिन सक्नेछन्।

Scroll to Top