
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
मिश्र गत चैत १५ गते पक्राउ परेका थिए। काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो।
मिश्रविरूद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने तयारी छ।
काठमाडौँको तीनकुनेमा चैत १५ गते दुर्गा प्रसाईलाई जनकमाण्डर तोकेर राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्न जाँदा २ जनाको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूले त्यस वरपरका निजी घर, व्यापारिक कम्प्लेक्स, सञ्चार प्रतिष्ठान, प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट पनि गरेका थिए। धेरै सवारी साधन पनि जलाएका थिए।
पक्राउ परेको ५० दिनपछि रवीन्द्र सर्वोच्चको आदेशमा रिहा हुने भएका हुन्।
सांसदसमेत रहेका राप्रपा महामन्त्री धवलशमशेर भने वैशाख ७ गते नै हाजिरी जमानीमा छुटेका थिए। उनलाई हाजिरी जमानीमा छाडिएको प्रहरीको भनाइ थियो।
तीनकुने घटनाकै अनुसन्धानका क्रममा दुर्गा प्रसाईसहित ५२ जना प्रहरी हिरासतमै छन्। प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरे पनि केहीलाई सामान्य सोधपुछपछि छाडिएको थियो।





