
नेपाल प्रिमियर लिग सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेखले एकैदिन बिहे गर्ने निर्णय लिएका छन्। अलराउण्डर आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार एकैदिन विवाह गर्न लागेका हुन्। यतिखेर होम टाउन विरगञ्जमा रहेका आरिफ-आशिफ बिहेको निमन्त्रणा कार्ड धमाधम बाँडिरहेका छन्।

कार्डमा उनीहरूको विवाहको रिसेप्सन जनवरी ४ अर्थात् पुस २० गते वीरगञ्जमा हुने लेखिएको छ। भर्खरै सम्पन्न एनपीएलमा आसिफ जनकपुर बोल्ट्स र आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए।
आफ्नो कोखबाट हुर्किएका दुई सन्तान खेलको मैदानमा आमनेसामने हुँदा बुवा मोहमद सलाम शेखले आसिफको टिम जनकपुरलाई समर्थन गरेका थिए भने आमा प्रवीण बानु आरिफको टिम सुदूरपश्चिमको पक्षमा उत्रिएकी थिइन्।
