विराटनगर: नेपाली चलचित्र क्षेत्रमा निर्माण व्यवस्थापन तथा बजार व्यवस्थापनमा सफल छवि बनाएका नवीन श्रेष्ठ अब म्युजिक भिडियो निर्देशनमा पनि प्रवेश गरेका छन्। लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय श्रेष्ठले म्युजिक भिडियो ‘पैसा’ मार्फत निर्देशकको रूपमा आफ्नो नयाँ यात्रा सुरु गरेका हुन्।
नेपालका स्थापित ब्यानर ‘आसुशेन फिल्म्स’ मा चर्चित निर्देशक सन्तोष सेनसँग नजिक रहेर काम गरेका श्रेष्ठले दर्जनभन्दा बढी चलचित्रको व्यवस्थापन सम्हालिसकेका छन्। चलचित्र क्षेत्रमा काम गर्दा हासिल गरेको प्राविधिक तथा व्यावसायिक अनुभवका आधारमा उनले विशेष गरी पूर्वी नेपालको चलचित्र वृत्तमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका छन्। सोही लामो अनुभव र सिर्जनात्मक क्षमतालाई उपयोग गर्दै उनले पहिलोपटक भिडियो निर्देशनमा कदम बढाएका हुन्।
‘हाईफाइभ मिडिया प्रडक्सन’ (Highfive Media Production) को प्रस्तुतिमा निर्माण भएको ‘पैसा’ को भिडियो स्टोरी (कथा) स्वयं निर्देशक श्रेष्ठले नै तयार पारेका छन्। कथानक (सिनेमेटिक) शैलीमा तयार पारिएको यस भिडियोमा पैसाको वरपर घुम्ने कथालाई आफ्नै मौलिक र सिर्जनात्मक दृष्टिकोणबाट प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए।
भिडियोमा विकास श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् भने रोशन मण्डल, रचना श्रेष्ठ, आशिका कार्की, अनुराग निरौला, होम पी. भट्टराई र बिनोद श्रेष्ठलगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ।
रविस्थाको शब्द तथा र्याप रहेको यस गीतको भिडियोका निर्माता राहुल राई हुन् भने कार्यकारी निर्माताको रूपमा रोशन मण्डल रहेका छन्। सुमन तामाङको छायांकन र हेमन तामाङको सम्पादन रहेको भिडियोमा रचना श्रेष्ठको मेकअप रहेको छ।
निर्माण पक्षका अनुसार उच्च प्राविधिक स्तर र मजबुत कथावस्तुमा आधारित ‘पैसा’ को भिडियो छिट्टै दर्शकमाझ सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ।

