खिजीदेम्बामा कुहिरोबाट पानी

५ वर्षदेखि बन्द विद्यालय खुल्ने आशा

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा कुहिरोबाट पानी निकाल्ने प्रविधि सफलतापूर्वक जडान गरिएको छ । ‘द स्मल अर्थ नेपाल’ नामक संस्थाले इन्टरनेसनल क्लाइमेट इनिसियटिभ (आईकेआई) को वित्तीय सहयोगमा डेढ वर्षभन्दा लामो समय लगाएर कुहिरोबाट पानी निकाल्ने प्रविधि ‘फग हार्भेस्टिङ सिस्टम’ विकास गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

गत हप्ता मात्रै यो प्रविधि गाउँपालिकालाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष गुम्बु शेर्पाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको वडा नं. ५ स्थित मेहेय्लेमा यो प्रणाली जडान गरिएको छ । जहाँ वर्षौंदद ददेखि पानीको चरम अभाव रहँदै आएको थियो ।

मेहेय्ले गाउँ समुद्री सतहबाट करिब २७०० मिटरको उचाइमा अवस्थित छ । पानीको मुहान नभएको र निकै टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताका कारण त्यहाँको ‘ग्याल्जेन लामा स्मृति स्कुल’ नामको बौद्ध विद्यालय करिब पाँच वर्षअघि बन्द भएको थियो । यो प्रविधिबाट पानी सङ्कलन हुन थालेपछि विद्यालय पुनः सञ्चालन गर्न र विद्यालय नजिकैका स्थानीय ५/६ घरधुरीलाई खानेपानी पुर्‍याउन नयाँ आशा जागेको उनी बताउँछन् ।

अध्यक्ष शेर्पा भन्छन्, “त्यहाँ पानीको समस्या निकै भएर विद्यालय नै बन्द गर्नुपरेको थियो । मैले समाधान खोजिरहेकै बेला कुहिरोबाट पानी निकाल्ने प्रस्ताव आयो । यो हाम्रा लागि ढुङ्गा खोज्दा देउता भेटिए जस्तै भएको छ । अब अर्को शैक्षिक सत्रदेखि विद्यालय पुनः सञ्चालन गर्ने तयारीमा छौँ ।” उनका अनुसार बौद्ध शिक्षाको सुरुवात फागुनदेखि हुने भएकाले अबको शैक्षिक सत्रबाट पठनपाठन सञ्चालनमा ल्याउने योजना बनाइएको छ । उक्त विद्यालयमा कक्षा ५ सम्म विद्यार्थीले पढ्न सक्नेछन् ।

यो प्रविधिले कसरी गर्छ काम ?

यो प्रविधिमा एक विशेष किसिमको जालीको प्रयोग गरिन्छ, जसमा कुहिरोका स-साना कणहरू ठोक्किएर पानीका थोपामा परिणत हुन्छन् । परियोजनाकी प्रमुख वैज्ञानिक डा. निरिना खड्गीका अनुसार यो पूर्ण रूपमा प्रकृतिमा आधारित र गुरुत्वाकर्षणको सिद्धान्तमा चल्ने प्रणाली हो ।

डा. खड्गीले भनिन्, “सुन्दा जटिल जस्तो लागे पनि यो एकदमै सरल प्रविधि हो । कुहिरो जालीमा ठोक्किएपछि शीतका थोपा बनेर सङ्कलन हुन्छ ।” पानी सङ्कलनका लागि ड्रमको प्रयोग गरिएको छ । ड्रमलाई घाम वा जनावरबाट हुन सक्ने क्षतिबाट जोगाउन जमिनमुनि गाडेर राखिएको छ । यसरी सङ्कलन गरिएको पानीलाई दुई/दुई सय लिटरका दुईवटा ड्रममा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

कुहिरोबाट सङ्कलन हुने पानी आफैँमा शुद्ध हुने उनको भनाइ छ । तर, लामो समयपछि कुहिरो वा बादल लागेको समयमा वायुमण्डलमा भएका स-साना धुलोका कण मिसिन सक्ने भएकाले उक्त पानीलाई फिल्टर गर्ने व्यवस्था मिलाइएको छ ।

सङ्कलित पानीलाई पिउन योग्य बनाउन ‘बायो-स्यान्ड फिल्टर’को प्रयोग गरिएको छ । यसरी फिल्टर गरिएको पानी पिउनका लागि पूर्ण उपयुक्त रहने उनले बताइन् । फिल्टर भएको पानी सङ्कलनका लागि ५०० लिटरको ड्रम राखिएको छ । बादलबाट पानी सङ्कलन हुने स्थानभन्दा विद्यालय र बस्ती केही तल रहेकाले बस्तिसम्मै पाइपबाट पानी पुर्‍याएर हजार लिटरका दुईवटा ड्रममा भण्डारण गर्ने व्यवस्था गरिएको छ ।

उनका अनुसार हाल कुहिरोबाट पानी सङ्कलन गर्ने १० वटा ‘फग हार्भेस्टिङ युनिट’हरू जडान गरिएका छन् । तर, जुनसुकै मौसममा पनि एउटै मात्रामा पानी सङ्कलन नहुने उनले बताइन् ।

उनले भनिन्, “यो समुद्री सतहबाट २५०० मिटरभन्दा पनि माथिको र कुहिरो लागिरहने ठाउँ हो । हिउँदमा बढी चिसो हुने भएकाले जाडो महिनाका लागि यो प्रविधि बढी उपयुक्त हुने हाम्रो अनुमान छ ।”

हाल वर्षायाम भएकाले फग हार्भेस्टिङ युनिटमा कुहिरो मात्र नभएर वर्षाको पानी समेत जम्मा भइरहेको छ । उनले भनिन्, “अहिले हामीले राखेका ड्रमहरू भरिएर पानी खेर गइरहेको छ । त्यसैले पानी खेर जान नदिन हामीले तीनवटा पोखरी बनाएका छौँ ।” ती पोखरीबाट जमिन ‘रिचार्ज’ भएर प्राकृतिक रूपमा मुहान फुट्न समेत सहयोग पुग्ने उनले बताइन् । यद्यपि, पुस, माघ र फागुन महिनामा पानी खासै नपर्ने हुँदा कुहिरोबाट मात्र कति पानी सङ्कलन हुन्छ भन्ने कुराको परीक्षण हुन बाँकी रहेको उनले जानकारी दिइन् ।

जाली बाहेकका सामग्री नेपालमै पाइने

कुहिरोबाट पानी सङ्कलनका लागि प्रयोग गरिने फग हार्भेस्टिङ युनिट नेपालमा नपाइने डा. खड्गीले बताइन् । परियोजनाका लागि उक्त जाली चीनबाट खरिद गरेर ल्याइएको थियो । सो बाहेकका सम्पूर्ण सामान नेपालमै खरिद गर्न सकिने उनको भनाइ छ ।

नेपालमा करिब ३० वर्षअघि इलाम र पाँचथरका केही स्थानमा कुहिरोबाट पानी सङ्कलनको काम सुरु गरिएको थियो । तर, सशस्त्र द्वन्द्वका कारण कतिपय संरचना नष्ट भएका थिए । अहिले पुरानै प्रविधिलाई थप परिष्कृत गर्दै प्रयोगमा ल्याइएको हो ।

यो प्रणाली एक पटक जडान गरेपछि जालीमा लाग्ने पातपतिङ्गर र ट्याङ्की सरसफाइबाहेक अन्य खासै मर्मत सम्भार गर्नु नपर्ने डा. खड्गी बताउँछिन् ।

साथै, यसमा विद्युत् वा अन्य खनिजको प्रयोग आवश्यक नपर्ने भएकाले बारम्बार खर्च गरिरहनु पर्दैन । उनले भनिन्, “हामीले यो परियोजना समयमै सक्नुपर्ने भएकाले सामान ढुवानी गर्दा हवाई मार्ग रोजेका थियौँ । यो परीक्षण परियोजना भएकाले पनि अलि बढी समय र खर्च लागेको थियो । तर, भविष्यमा यस्ता कामहरू सस्तो पर्दै जान सक्छन् । बल्कमा सामान किन्ने र सडक मार्ग प्रयोग गरेमा लागत निकै कम हुन्छ ।”

उनका अनुसार सदाबहार कुहिरो लाग्ने र पानीको समस्या भएका साना बस्तीहरूमा यो प्रविधि अत्यन्तै प्रभावकारी हुन्छ । “जहाँ पानीको समस्या खासै छैन । त्यसका लागि यो प्रविधि होइन । तर, पानीको स्रोतसम्म पुग्न निकै गाह्रो हुने तर कुहिरो लागिरहने ठाउँमा लिफ्टिङ गरेर पानी ल्याउनु भन्दा यो धेरै प्रभावकारी र कम खर्चिलो उपाय हो ।” यस्ता क्षेत्रका समुदाय वा स्थानीय तहले चाहेमा आफ्नो प्राविधिक समूहले सहयोग पुर्‍याउन सक्ने उनले बताइन् ।

Scroll to Top